विद्यार्थीलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, विश्वव्यापी मुद्दा, समस्या समाधानका उपाय, समस्या समाधानमा अग्रसरता लिन प्रेरणा दिने तथा यस्ता विषयमा संयुक्त राष्ट्रसङ्घ कसरी सञ्चालन गरिन्छ भन्ने विषय सिकाउँछ ।
नमुना संयुक्त राष्ट्रसङ्घ (मुन) सम्मेलनमा सहभागिताका लागि छनोट भएपछि कानुन विषयमा स्नातक छात्रा सम्पदा आचार्यलाई अब के गर्ने ? भन्ने समस्या आइलाग्यो । सम्मेलनमा आचार्यले युगान्डाको प्रतिनिधिको भूमिका निर्वाह गरेर सोही मुलुकको एजेन्डा सम्मेलनमा प्रस्तुत गर्नुपर्ने परिस्थिति बन्यो ।
विश्वमा शरणार्थीको सबैभन्दा धेरै समस्या रहेको मुलुकमध्ये युगान्डा छैटौँ स्थानमा पर्दछ । शरणार्थीका समस्यालाई प्राथमिकतासाथ सम्मेलनमा राख्नुपर्ने भएकाले विश्वमा शरणार्थीको अवस्था र आफ्नो मुलुकको अवस्थाबारे आचार्यले अध्ययन थाल्नुभयो । शरणार्थीका समस्या समाधानबारे विभिन्न मुलुकबाट विश्वमञ्चमा व्यक्त प्रतिबद्धता, संयुक्त राष्ट्रसङ्घलगायत अन्य मुलुकले गरेका सामूहिक तथा एकल प्रयासबारे थुप्रै सामग्री जुटाएर गत जेठमा काठमाडौँमा सम्पन्न सम्मेलनमा पूर्ण आत्मविश्वाससाथ आचार्य प्रस्तुत हुनुभएको थियो ।
आचार्य भन्नुहुन्छ, “मलाई जुन जिम्मेवारी दिइएको थियो, त्यसबारेमा मैले सम्मेलनमा त प्रस्तुत गरे नै, अब विश्व शरणार्थीका विषयमा म जुन मञ्चमा गएर पनि खुलस्त रूपमा बोल्न सक्ने भएको छु ।”सरल रूपमा सञ्चार गर्ने, समस्या पहिचान गरेर समाधानका लागि नेतृत्व लिने जस्ता विषयमा सम्मेलनबाट ज्ञान प्राप्त गरेको आचार्य बताउनुहुन्छ ।
सम्मेलनमै करुणा सापकोटाले दक्षिण अफ्रिकाका बारेमा खुलस्त रूपमा आफ्नो धारणा राख्नुभएको थियो । गोविन्दविक्रम थापाले टर्कीको राष्ट्र प्रमुख बनेर संयुक्त राष्ट्रसङ्घमा आफ्नो मुलुकको धारणा राख्नुभयो । सम्मेलनका सहभागीले पनि यसरी नै आफूलाई जिम्मेवारी दिइएको मुलुक र समस्याका बारेमा अध्ययन गरेर सम्मेलनमा आफ्नो धारणा राख्नुभयो । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएपछि सदस्य राष्ट्रका प्रमुखले जसरी आफ्ना एजेन्डा राख्छन्, त्यसरी नै मुन सम्मेलनमा सहभागी हुने सबै जसो सदस्यलाई राष्ट्रसङ्घमा सहभागी हुने कुनै न कुनै मुलुकको प्रतिनिधिको पहिचान दिइन्छ र सोही अनुसार एजेन्डा तय गरेर सम्मेलनमा प्रस्तुत गर्न लगाइन्छ ।
आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न सम्मेलनका सहभागीले प्रशस्त अध्ययन गर्नु पर्छ, राष्ट्रसङ्घको महासभामा प्रस्तुत हुने शैलीमै आफ्नो कुरा शिष्ट, सभ्य र पूर्ण आत्मविश्वाससाथ राख्न सक्नु पर्छ । अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभा जसरी सञ्चालन हुन्छ, त्यसरी नै मुन सम्मेलन सम्पन्न गरिन्छ । सहभागीका अनुसार न्युयोर्कमा सम्पन्न हुने राष्ट्रसङ्घको महासभालाई यतैबाट नियाल्ने यो उपयुक्त मौका हो ।
हरेक वर्ष हुने यस्ता कार्यक्रिममा युएनकै मोडलमा एक जना महासचिव तथा एक जना महानिर्देशक पनि चयन गरिन्छ । साथै युएनका विभिन्न स्थायी समितिको झल्को दिने युएनमा जसरी नै समितिको प्रमुख र सदस्य चयन यही कार्यक्रममार्फत गरिन्छ । यस पटकको मुन सम्मेलनमा दिवससिंह खड्का महासचिव तथा अनुराधा थापा महानिर्देशक चुनिनुभएको थियो । अनुराधा थापा यस्ता कार्यक्रम अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, नेतृत्व विकास र समस्या समाधानका विषयमा युवाले प्रशस्त ज्ञान हासिल गर्ने उपयुक्त थलो भएको बताउनुहुन्छ ।
विश्व बुझ्ने र सिक्ने
मोडेल संयुक्त राष्ट्रसङ्घ सम्मेलनलाई मोडेल युएन अर्थात् एमयुएन भनिन्छ । संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा पुगिसक्नुभएका मदन राईका अनुसार यो एक शैक्षिक अभियान जस्तै हो । जसले विद्यार्थीलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, विश्वव्यापी मुद्दा, ती मुद्दा समाधानका उपाय, समस्या समाधानमा अग्रसरता लिन प्रेरणा दिने तथा यस्ता विषयमा संयुक्त राष्ट्रसङ्घ कसरी सञ्चालन गरिन्छ भन्ने विषय सिकाउँछ । मुन सम्मेलनका समयमा सहभागी प्रतिनिधिले विश्वव्यापी मुद्दामा सहकार्य गर्छन् । ती मुद्दाको प्रस्तुतिमा अनुभव आदानप्रदान गर्छन् तथा नमुनाका रूपमा आफू सहभागी भएको मुलुक तथा संस्थाबाट प्रतिनिधिको भूमिका निर्वाहसमेत गर्छन् । यस्ता सम्मेलनले सहभागीमा अनुसन्धान गर्न, सार्वजनिक भाषण तथा बहस गर्दै लेखन, आलोचनात्मक सोच, समूह कार्य र नेतृत्वका लागि समेत प्रेरणा दिन्छ । फरक फरक मुलुकको प्रतिनिधिको भूमिकामा रहेका साथीको प्रस्तुति सुन्न र सोही अनुसार आफूलाई थप परिष्कृत पार्ने अवसर पनि सम्मेलनबाट पाइन्छ ।
विद्यार्थीलाई यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउन केही विद्यालयले त यसलाई आफ्नो कक्षामा पाठ्यक्रमका रूपमा समावेश गराएर पढाउनेसमेत गरेका छन् । यसको उद्देश्य विश्वव्यापी मुद्दाको गहिरो बुझाइ र नागरिक संलग्नतालाई प्रोत्साहित गर्नु रहेको संयुक्त राष्ट्रसङ्घको युवा तथा विद्यार्थी सङ्घका अध्यक्षसमेत रहनुभएका राई बताउनुहुन्छ । उहाँका अनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधिले अनुसन्धान सञ्चालन गरेर, स्थितिपत्रको मसौदा तयार गरेर र नीति प्रस्ताव तर्जुमा गरेर सम्मेलनको तयारी गर्छन् । मुन सम्मेलन प्राथमिकदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थी सहभागी गराएर सञ्चालन गरिन्छ । पछिल्लो समय धेरै स्कुल तथा क्याम्पसले आफ्नै विद्यार्थीलाई सहभागी गराएर यस्तो सम्मेलन सम्पन्न गर्ने गरेका छन् । जहाँ प्रतिनिधि सामान्यतया आफ्नो स्कुल वा विश्वविद्यालयबाट प्रतिनिधिमण्डलका रूपमा सम्मेलनमा उपस्थित हुन्छन्, यद्यपि स्वतन्त्र सहभागीका रूपमा भाग लिन पनि बन्देज छैन । विद्यार्थीको उमेर अनुसार सम्मेलन सञ्चालन गर्ने विधि तथा त्यहाँ छलफल हुने विषय वा एजेन्डा पनि फरक फरक हुन्छन् ।
यस पटकको मुन सम्मेलनमा महानिर्देशक बन्नुभएका थापाका अनुसार संयुक्त राष्ट्रसङ्घका बारेमा जान्ने सबैभन्दा उत्तम उपाय भनेको मुन सम्मेलन हो । स्कुल तथा क्याम्पसले यस्ता सम्मेलनको आयोजना गरेर युएनको शैलीमा विद्यार्थीलाई छलफलमा अभ्यस्त गराउने गरेका छन् ।
नेपालमा करिब १५ वर्षअघि मुनको सुरुवात भएको मानिन्छ । काठमाडौँ विश्वविद्यालयले सन् २००२ मा पहिलो पटक मुन सम्मेलनको आयोजना गरेको थियो । त्यसपछि विभिन्न शैक्षिक संस्थाले यसलाई छुट्टाछुट्टै तरिकाले सञ्चालन गरिरहेको पाइन्छ । विगतका सम्मेलनमा पनि आजको जस्तै आणविक हतियार, विश्वमा देखिएको शरणार्थी समस्या र युद्धपछिको पुनर्निर्माणसम्बन्धी बहस समावेश गरिएका थिए । जुन विषय हिजोआजको नमुना सम्मेलनमा पनि उत्तिकै महìवका साथ प्रस्तुत हुने गरेको छ । पछिल्लो समय विश्वका हरेक मुलुकले निकै प्राथमिकता दिएको र चासोका साथ हेरिएको दिगो विकास लक्ष्य, कूटनीतिक आयाम, साझा अन्तर्राष्ट्रिय सवाल, जलवायु परिवर्तन, मानव अधिकार, सुरक्षालगायतका विषयमा पनि युवालाई प्रशिक्षित गराउन यस्ता सम्मेलन फलदायी रहेको छ ।
सुरुवाती वर्षमा संयुक्त राष्ट्रसङ्घ (युएन) यस्ता सम्मेलनमा सहभागीसमेत हुँदैनथ्यो । पछिल्ला दिनमा युएनले यो सम्मेलनलाई अनुमोदन गरेको छ । नेपालमा पनि सरकारीस्तरबाट विगतका वर्षदेखि नै राष्ट्रिय युवा परिषद्को संयोजन र विभिन्न सामाजिक संस्थाको सहकार्यमा मुन सम्मेलनको आयोजना हुने गरेको छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत मुन सम्मेलनका लागि अहिले संयुक्त राष्ट्रसङ्घले निर्देशिका नै जारी गरेर व्यवस्थित गरेको बताउनुहुन्छ । साथै संयुक्त राष्ट्रसङ्घले यस्ता सम्मेलनलाई व्यवस्थित गर्न छुट्टै युएन युथ अफिसको समेत स्थापना गरेको छ ।
विश्वमा मुन
अहिले भनिँदै आएको मुनको सुरुवात सन् १९२१ मा पहिलो पटक बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भएको थियो । त्यतिबेला लिग अफ नेसन नै अस्तित्वमा रहेका कारण उक्त सम्मेलनलाई मोडल लिग अफ नेसन भनिएको थियो । लिग नेसनकै झल्को दिने गरी त्यसबेलाको सम्मेलन सम्पन्न भएको थियो । त्यस्तै सन् १९२३ मा हार्वर्ड विश्वविद्यालयको लिबरल क्लबले पहिलो अमेरिकी अन्तर्राष्ट्रिय सभाको आयोजना गरेको थियो । जसलाई संयुक्त राज्य अमेरिकामा हालको मोडेल संयुक्त राष्ट्रसङ्घको सुरुवात गर्ने श्रेय दिने गरिन्छ । दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घ (युएन) को स्थापना भएपछि नमुना संयुक्त राष्ट्रसङ्घ अभ्यास कार्यव्रmम अर्थात् मोडल युनाइटेड नेसन (मुन) को सुरुवात गरिएको थियो । युएनको स्थापनापछि पहिलो पटक सन् १९४९ मा अमेरिकाको स्वाथमोर कलेजमा भएको सम्मेलनलाई पहिलो मुन सम्मेलन नामकरण गरिएको थियो । सुरुवाती दिनमा मोडल युएनको अनुगमन तथा सुरपरिवेक्षणको काम युएनले गर्न भ्याएको थिएन । संयुक्त राष्ट्रसङ्घकै सहआयोजनामा भने सन् २००० मा अमेरिकाको न्युयोर्क सहरमा मुन सम्मेलनको आयोजना भएको थियो । जहाँ संयुक्त राष्ट्रसङ्घको हेड क्वाटरसमेत रहेको छ । त्यसपछि संयुक्त राष्ट्रसङ्घले सन् २००९ देखि सन् २०११ मुन सम्मेलन सञ्चालनका लागि नयाँ नियम बनाएको पाइन्छ । हाल सञ्चालन हुने नमुना सम्मेलन सोही निर्देशिकाबाट निर्देशित हुने गर्दछ ।