• ६ असार २०८२, शुक्रबार

चोर खोलामा पहिरो, राप्ती राजमार्ग अवरुद्ध

blog

स्तरवृद्धी भइरहेको राप्ती लोकमार्गअन्तर्गत कपुरकोट–चोर खोला सडकखण्ड । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, असार ६ गते ।
सल्यान र दाङ जिल्लाको सिमाना चोर खोलामा ठुलो पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा अविरल वर्षासँगै गएको पहिराले कपुरकोट–दाङ सडकखण्ड पूर्णरूपमा ठप्प बनेको हो ।

बिहीबार राति ९ः५५ देखि पहिरो झरेका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार बिहान ६ बजेदेखि बाटो खोल्ने प्रयास जारी रहे पनि निरन्तरको वर्षाका कारण पहिरो हटाउने काममा कठिनाइ भएको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले भन्नुभयो, “पहिरो रोकिएलगत्तै दुई–तीन घण्टामा सडक खुलाउन सकिने अनुमान छ ।” उहाँका अनुसार सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको छ ।

राप्ती राजमार्गको सल्यान–दाङ सडकखण्डमा वर्षाैँदेखि पहिरोको समस्या हुँदै आएको छ । जसका कारण यातायात सञ्चालनमा पटक–पटक अवरोध हुने गरेको छ भने यात्रा समेत जोखिमयुक्त बन्ने गरेको छ । पहिरोका कारण लामो तथा छोटो दूरीका सयौँ सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् ।