• ६ असार २०८२, शुक्रबार

‘कार्यसम्पादनमा संस्कृति मन्त्रालय अब्बल’

blog

सांस्कृतिक संस्थानको ५३ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा संस्थानद्वारा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउनुहुने स्रष्टालाई सम्मान प्रदान गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे । तस्बिर : सागर बस्नेत

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  सरकारको वार्षिक कार्यसम्पादनमा संस्कृति मन्त्रालय दोस्रो स्थानमा रहेर अब्बल भएको बताउँदै नेपाल–प्रज्ञा–प्रतिष्ठान आफैँले कमाएर सञ्चालन हुन सक्ने वातावरण बनाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । आफू भाषा साहित्यसेवी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिष्ठानले दिने हल भाडालाई सदुपयोग गरे आर्थिक  रूपमा बलियो हुन्छ ।”

उहाँले सार्वजनिक संस्थानहरूको उत्पादकत्व बढाउँदै देशको अर्थतन्त्र मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले आयोजना गरेको कवि गोष्ठी तथा स्वास्थ्य परीक्षण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आजको आवश्यकता सबल सार्वजनिक संस्थान रहेको उल्लेख गर्नुभयो । “अब हामीले आयआर्जन र उत्पादकत्व बढाउनेतर्फ ध्यान दिनु पर्छ, जसले मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष योगदान दिन सक्छ,” उहाँले भन्नुभयो ।  

मन्त्री पाण्डेले सार्वजनिक संस्थानमा आवश्यक जनशक्ति व्यवस्थापन स्पष्ट र प्रभावकारी ढङ्गले गर्नुपर्नेमा जोड दिनुभयो । “कति कर्मचारी आवश्यक छन्, कसरी परिचालन गर्ने भन्ने विषयमा स्पष्ट खाका बनाइनु आवश्यक छ,” उहाँले भन्नुभयो, “यसले संस्थाको क्षमता अभिवृद्धि र आर्थिक स्थायित्वमा टेवा पु¥याउँछ ।” 

उहाँले नेपाल धार्मिक, प्राकृतिक, भौगोलिक बनावट, उर्वर जमिन र जल सम्पदाको हिसाबले सम्पन्न भएको उल्लेख गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने विषयमा सरकारले काम गरिरहेको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली भाषा र संस्कृतिको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा कवि बाबु त्रिपाठी, प्रगति राई, तुलसीहरि कोइराला, रञ्जिता गिरी र कल्पना भण्डारीलगायतले आफ्ना रचनामार्फत सामाजिक, आर्थिक तथा राज्य संयन्त्रका विविध पक्षबारे आवाज उठाउनुभएको थियो ।

यसैबिच सांस्कृतिक संस्थानको ५३ औँ वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम गरी बिहीबार सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समारोहको उद्घाटन गर्दै नेपालमा बस्ने गर्ने हरेक जातजातिसँग फरक भाषा, संस्कृति, गीत/सङ्गीत, नृत्य नाटक परम्परा रहेको भन्दै त्यस्ता मौलिक अमूर्त सम्पदाको प्रवर्धनबाट पर्यटकको ध्यानाकर्षण गर्न सकिने बताउनुभयो । उहाँले त्यसबाट आर्थिक समृद्धिमा टेवा पुग्ने पनि बताउनुभयो  । सोही अवसरमा नेपाली  सांस्कृतिक उत्थानमा फरक/फरक विधा र माध्यमबाट योगदान पु¥याएका स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । नेपालका पहिलो नृत्य गुरु भैरवबहादुर थापा, कलाकार मिथिला शर्मा, लोकगायिका चन्द्रकला शाह, गायन, वाद्यवादनका लागि नरसिंहलाल श्रेष्ठ र पञ्चनारायण महर्जन, कलाकार लोकनाथ ढकाललाई मन्त्री पाण्डेले पुरस्कार प्रदान गर्नुभयो । 

सोही अवसरमा नेपालका सबै भूभाग र जातजातिमा रहेका सांस्कृतिक सम्पदाबारे समेटिएको ‘संस्कृति अध्ययन जर्नल’ को लोकार्पण गरियो । जर्नलका सम्पादक गुरुङ सुशान्त र भोगीराज चाम्लिङलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सिन्धुली कलाघरका कलाकारले नौमती बाजा प्रस्तुत गर्नुभएको सो कार्यक्रममा गीतिनाटक मुनामदनको पनि मञ्चन गरिएको थियो ।