• ५ असार २०८२, बिहिबार

उपप्रमुखको नेतृत्वमा निर्माणाधीन योजनाको स्थलगन अनुगमन

blog

दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दको नेतृत्वमा अनुगमन गरिँदै । तस्बिर : केशव राज भट्ट

केशव राज भट्ट
(बाशुलिङ्ग) बैतडी, असार ५ । दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दको नेतृत्वमा नगर क्षेत्रका वडाहरूमा योजनाको अनुगमन तथा जनगुनासो सङ्कलन कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा सम्पन्न भएका योजना तथा निर्माणाधीन योजनाहरूको स्थलगत अनुगमन गर्नुका साथै आगामी वर्षका लागि आवश्यक योजना तथा सुझाव सङ्कलन गर्ने उद्देश्यले टोली वडा–वडामा पुगेका हुन् ।

उक्त टोलीले निर्माणाधीन तथा निर्माणको क्रममा रहेका योजनाहरूको गुणस्तर मूल्याङ्कन गर्नुका साथै ग्रामीण क्षेत्रका प्राथमिकता पहिचान गर्ने अभियान समेत सञ्चालन गरिरहेको योजना शाखा प्रमुख राजेश खत्रीले जानकारी दिनुभयो । ‘‘उपप्रमुख ज्यूको नेतृत्वमा ग्रामीण भेगमा केन्द्रित भई योजनाको गुणस्तर मूल्याङ्कन तथा आगामी वर्षका आवश्यकता पहिचान गरी सुझाव सङ्कलन गरिरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘यसले गाउँसभा र बजेट निर्माणमा सघाउनेछ ।’’

टोलीमा नगरपालिकाका प्राविधिक कर्मचारी र वडाका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको छ । नगरपालिकाका ११ वटै वडामा पुगेर टोलीले स्थानीय बासिन्दाहरूको समस्या, योजना कार्यान्वयनको प्रभावकारिता तथा आगामी आवश्यकतासम्बन्धी प्रत्यक्ष अवलोकन गरिरहेको छ ।

‘‘ग्रामीण क्षेत्रको विकास हाम्रो पहिलो प्राथमिकता हो,’’ उपप्रमुख चन्दले बताउनुभयो, ‘‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका विषयमा स्थानीयको माग तथा सुझाव सुनेर योजनाबद्ध रूपमा अगाडि बढ्न सहज हुने विश्वास लिएको छौँ ।’’

नगरपालिकाले प्राप्त सुझाव र सिफारिसलाई आगामी गाउँसभा तथा नीति तथा कार्यक्रम निर्माणमा समेत समावेश गर्ने जनाएको छ ।