• १४ साउन २०८२, बुधबार

बजार चलायमान बनाउन मेला

blog

सदरमुकाम फुङ्लिङ बजारमा सुरु भएको रमाइलो मेला। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १३ गते। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारलाई चलायमान बनाउने उद्देश्यसहित रमाइलो मिनी मेला सुरु भएको छ। लाखेजात्रा पर्वको अवसर पारेर फुङ्लिङ बजारमा रमाइलो मिनी मेला लगाउन सुरु गरिएको हो।

फुङ्लिङ बजारको तोक्मेडाँडा र वीरेन्द्र चौकनजिक रमाइलो मिनी मेला सुरु गरिएको छ। रोटे पिङसहित विभिन्न मनोरञ्जनात्मक खेलकुद लगायतका गतिविधि रमाइलो मेलामा राखिएको छ। दोखु युवा क्लबको आयोजनामा तोक्मेडाडा क्षेत्र र स्थानीय क्लबकै आयोजनामा वीरेन्द्र चौकको होटल जन्नुइन परिसरमा रमाइलो मेला सुरु गरिएको छ।

व्यापारिक दृष्टिले बजारलाई चलायमान बनाउन साथै स्थानीय सर्वसाधारणलाई मनोरञ्जन दिलाउने उद्देश्यले रमाइलो मेला सुरु गरिएको आयोजक क्लबहरुले जनाएका छन्। आयोजकका अनुसार बालबालिकादेखि किशोर, युवा, प्रौढलगायत सबै उमेरका सेवाग्राही तथा मेलाप्रेमीलाई मनोञ्जन दिलाउन रोटे पिङसहित मनोरञ्जनात्मक खेल गतिविधि र साङ्गीतिक प्रस्तुतिहरु मेलामा रहेका छन्।

रमाइलो मिनी मेलामा जुवाजन्य खेल तथा गतिविधि भने प्रतिवन्ध गरिएको छ। जुवाजन्य गतिविधिले झगडाको सुरुवात गराउन सक्ने सम्भावना अधिक रहने र शान्ति सुरक्षामा नकारात्मक असर पुर्‍याउने भएकाले त्यस्ता गतिविधि प्रतिवन्ध गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमको भनाइ छ।

सदरमुकाम फुङ्लिङमा एकै समयमा दुई फरक-फरक स्थानमा रमाइलो मिनी मेला आयोजना गरिएकोले बजार चलायमान हुनेमा स्थानीय व्यापारीले अपेक्षा गरेका छन्। रमाइलो मेला भर्न तथा मनोरञ्जन लिनलाई मेलाप्रेमीको जमघट हुने र व्यापारिक दृष्टिले सिङ्गो फुङ्लिङ बजार नै केही चलायमान हुने अपेक्षा राखिएको ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले बताउनुभयो। 

यता लाखेजात्रा पर्वको अवसरमा सुरु भएको रमाइलो मिनी मेला, लाखे नाच प्रदर्शन, स्थानीय व्यापार तथा कारोबारलाई दृष्टिगत गरी बजार खुला रहने समयावधि पनि बढाइएको छ। हरेक दिन बेलुका ८ बजे बजार पसल बन्द हुने गरेकोमा राति १० बजेसम्म बजार खुला रहनेगरी समय बढाइएको छ। बजार खुला हुने बेलुकाको समयावधि बढाइएकाले थोरै भए पनि बजार चलायमान हुनलाई सहयोग पुग्ने अपेक्षा गरिएको बाणिज्य सङ्घका अध्यक्ष गौतमको भनाइ छ।

रमाइलो मेलासँगै अहिले फुङ्लिङ बजारमा लाखे चानको रौनक पनि सुरु भएको छ। गएको बिहीबार गठेमङ्गलको विधिपूर्वक पूजा गरी यसवर्षको लाखे पर्व सुरु भएको हो। गठेमङ्गलको दिनदेखि हरेक दिन साँझको समयमा फुङ्लिङ बजारमा नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन्। लाखे नाच प्रदर्शनले पनि यतिबेला बजारमा चहलपहल बढ्दै गएको छ। गठेमङ्गलदेखि सुरु भएको लाखेजात्रा पर्व कृष्ण जन्माष्टमीपछि समाप्त हुने छ।