• १४ असार २०८१, शुक्रबार

सार्वजनिक सेवामार्फत नागरिकलाई राज्य उपस्थितिको बोध गराउनुपर्छ : राष्ट्रपति

blog

लोकसेवा आयोगको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारी । तस्विरः केशव गुरुङ

काठमाडौं, असार १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउनुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ७२ औं वार्षिकोत्सवको अवसरमा बुधबार केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजित कार्यक्रममा उहाँले आयोगको निष्पक्षता र  विश्वसनीयताले नागरिकस्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताउनुभयो ।

राषट्रपति भण्डारीले विज्ञान र प्रविधिको विकाससँगै जनसम्बोधनका लागि आयोगले अनलाइन एपसँग जोड्ने कार्यले सेवाहरु सरल र सहज ढंगबाट प्राप्त हुने अपेक्षा  व्यक्त गर्नुभयो । “नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्नेगरी आफूलाई निरन्तर रुपमा सुधार एवम् विकास गर्दै अगाडि बढ्न आवश्यक छ । ठूला राजनीतिक परिवर्तन पश्चात् मुलुक अब क्रमशः आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको छ” उहाँले भन्नुभयो । 


मुलुकको स्थायी सरकारको रुपमा रहेको आयोगले निजामति सेवाका लागि योग्य, दक्ष एवम् उपयुक्त उम्मेद्वार छनोट गर्ने जिम्मेवारी पाएको भन्नुहुँदै उहाँले दक्ष जनशक्ति विकासका लागि अभिमुखीकरण र उम्मेद्वार छनोट प्रणालीमा समय सापेक्ष सुधार गर्नुपर्नेमा जोड दिनुभयो  ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोग योग्यता प्रणालीको उत्कृष्ट कन्द्रको रुपमा स्थापित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थालाई आम जनताको विश्वासको केन्द्रको रुपमा विकसित गर्नुहुने पूर्वपदाधिकारी र पूर्व कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्नुभयो । 

योग्यता, निष्पक्षता र स्वच्छतालाई आयोगले आफ्नो कार्य सम्पादनका मूल मन्त्रको रुपमा अंगीकार गर्दैआएको छ । सात दशक लामो ऐतिहासिक यात्राका क्रममा आयोगको काम, कर्तव्य र जिम्मेवारीका क्षेत्रहरुमा विभिन्न  फेरवदल भए । अग्रजहरुको अथक प्रयत्नबाट सार्वजनिक निकायका कर्मचारी भर्ना र छनौटमा योग्यता प्रणाली स्थापित गर्न लोक सेवा आयोग अग्रणी संस्थाको रुपमा स्थापित भएको बताउनुहुँदै अग्रजहरुप्रति उहाँले आभार प्रकट गर्नुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोगका पूर्व सदस्य डा. गौरीशंकरलाल दाससहित आयोगमा कार्यरत उत्कृष्ट कर्मचारीहरु सम्मानित हुनुभयो । आर्थिक वर्ष २०७७–७८ मा पुरस्कृत केन्द्रीय कार्यालयमा कार्यरत शाखा अधिकृत यमुना सापकोटा, नायब सुब्बा मानबहादुर साउद, कार्यालय सहयोगी सुकुमान तामाङ र कम्युटर अपरेटरहरु मनोजकुमार न्यौपाने, कुमार जोशी र लक्ष्मीप्रसाद राई सम्मानित हुनुभयो । 

यसैगरी, आर्थिक वर्ष २०७९–८० मा शाखा अधिकृत भागिरथा गैरे, नायक सुब्बा होमनाथ निरौला र हल्का सवारी चालक हरिकुमार पाण्डे र कम्प्यूटर  अपरेटरहरु केशव बस्याल र शरद पुरी सम्मानित हुनुभयो । 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।