रामकृष्ण बोहरा
बागलुङ, असार २ गते । बागलुङको बरेङ र तमानखोला गाउँपालिका घरमा हुने सुत्केरी शून्य बनेको छ । भौगोलिक विकटता र पर्याप्त आर्थिक स्रोतको अभावका बाबजुद बरेङ र तमानखोला आमा स्वास्थ्यको क्षेत्रमा अब्बल बनेका हुन् ।
पहिले बरेङको सल्यान, सुखौरा र बाटाकाचौरमा बर्थिङ सेन्टर थिएन । महिलामा समस्या हुँदा गुल्मीको शान्तिपुर र पाल्पा पुग्नुपर्ने बाध्यता थियो । विसं २०७२ देखि सल्यानमा बर्थिङ सेन्टर सञ्चालनमा छ । अहिले बरेङका पाँच वटै वडा धुल्लुबास्कोट, सुखौरा, हुग्दिशिर, बाटाकाचौर र सल्यानमा बर्थिङ सेन्टर छन् । जसको कारण महिलालाई नियमित गर्भ परीक्षणदेखि सुत्केरी हुन सहज भएको छ ।
दुई सन्तान घरमै जन्माउनुभएका अनिता खत्रीले पछिल्ला दुई सन्तान गाउँकै बर्थिङ सेन्टरमा जन्माउन पाउँदा धेरै सहज भएको बताउनुभयो ।
‘‘आफ्नो खर्च पनि लागेन, स्वास्थ्यकर्मी छन् भनेपछि ढुक्क पनि भयो । आवश्यक औषधी पनि स्वास्थ्य संस्थाबाट पाइयो’’ खत्रीले भन्नुभयो, ‘‘केही अप्ठ्यारो पर्दा सबैको सहयोग पाएकी छु ।’’
दुर्गमका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर संचालनमा आएपछि बरेङका महिलाहरुले सुत्केरी अवस्थामा आउने जोखिमबाट राहतको महशुश गर्न थालेका छन् ।
पछिल्लो दुई वर्षमा बरेङका कोही पनि महिला घरमा सुत्केरी भएका छैनन् । ‘‘हामीले वडा तहमा पुगेर सबै गर्भवतीको तथ्याङ्क राखेका छौं,’’ पालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले भन्नुभयो, ‘‘समस्या पर्नेहरुलाई समयमै सुरक्षित स्थानमा समेत पठाएका छौं ।’’
गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई एकदेखि तीन हजार रुपियाँसम्म गाडी भाडा र पाल्पा रिफर गर्नुपर्ने भए न्यूनतम पाँच हजार रुपियाँ भाडा दिँदै आएको छ । बरेङका सबै स्वास्थ्य संस्थामा आवस्यक पर्ने न्यूनतम उपकरण उपलब्ध भएपछि गर्भजाँचदेखि सुत्केरी सेवा भरपर्दाे भएको हो ।
गाउँपालिकाको तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष मात्र बरेङ गाउँपालिकाका एक सय ३३ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । ४० प्रतिशत वडा तहमै सुत्केरी भएका छन् । झण्डै ६० प्रतिशतले सदरमुकाम बागलुङ बजार, पाल्पा र बुटवल पुगेर पनि स्वास्थ्य संस्थामै सुत्केरी भएको गाउँपालिकाले तथ्याङ्क राखेको छ ।
चालु वर्षको फागुन मसान्तसम्म बरेङका ७१ जना गर्भवतीमध्ये ४५ जना बर्थिङ सेन्टर र २६ जना अन्य अस्पतालमा सुत्केरी भएका छन् । घरमा हुने सुत्केरी शून्य कार्यक्रम कार्यान्वयन गर्न पालिकाले सबै वडामा बर्थिङ सेन्टरको स्थापना, एक जना स्याहारकर्तासहित निःशुल्क खाना र बस्नका लागि आमा प्रतिक्षा घर, स्वास्थ्यकर्मीद्वारा गर्भवती महिलाको घरमै पुगेर स्वास्थ्य परामर्श गर्ने, बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाका लागि दुरीको आधारमा यातायात खर्च र बर्थिङ सेन्टरमा सुत्केरी हुन नसक्ने जटिल अवस्थाका महिलाहरुलाई यातायात खर्चसहित अस्पताल प्रेषण गर्ने व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।
बरेङका सबै स्वास्थ्य संस्थामा आवस्यक पर्ने न्युनतम उपकरणहरु उपलब्ध छन् । पालिकाको आफ्नै एम्बुलेन्स पनि छ । शिशु जन्मेपछि न्यानो पार्ने बेबीवार्मर मेसिन, अन्य उपकरण र ल्याब भएकोले पालिकाले अब स्वास्थ्यमा फड्को मार्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । सुत्केरी हुँदा जनप्रतिनिधिले खानेलाई माछामासुदेखि नखानेलाई घिउ लगेर भेट्न जाने व्यवस्था बनेको छ ।
यस्तै, दशक अघिसम्म तमानका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर थिएनन् । नजिकको तत्कालिन बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुग्न एक दिन पैदल यात्रा गर्नुपथ्र्यो । तीन वर्षयता तमानका घरगोठमा सुत्केरी कोही भएका छैनन् । तमानखोलामा बर्थिङ सेन्टर स्थापनाको लहर चलेपछि महिलालाई सुत्केरी हुन सहज भएको हो ।
बोङगादोभान स्वास्थ्य चौकी अहिले १० शय्याको आधारभूत अस्पतालमा परिणत भएको छ । तमान गाउँ, खुंखानी र वडा नं. ६ को आधारभूत स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।
२०७४ को निर्वाचनपछि शून्य होम डेलीभरी बनाउने अभियान सुरु भएको थियो । पालिकाको अभियानमा ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उपकरण र तालिम दिने काममा सहकार्य गरेको थियो । ‘‘सबैको सहयोगले तमानखोलामा घरमा हुने सुत्केरी शुन्य बनेको हो’’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो ।
पालिकाको तथ्याङ्क अनुसार, आर्थिक २०७५/७६ मा ४८ जना महिला घरमा सुत्केरी भएकोमा ०७६/७७ मा घटेर ३६ जना पुग्यो । आ.व. ०७७/७८ मा २६, ०७८/७९ मा ६ जना, ०७९/८० मा ३ र गत वर्षदेखि शून्यमा झरेको छ । पछिल्लो तीन वर्षदेखि एक सय ३५ जनाको दरले संस्थागत सुत्केरी भएको रेकर्ड छ ।