अमृत कुमार महतो
बिजलपुरा (महोत्तरी), असार १ गते । महोत्तरीको बर्दिबास नगरपालिका १२ र १३ बिजलपुराको कुल जनसङ्ख्या ८ हजार ७८३ छ । जनस्वास्थ्यको जिम्मेवारी बोकेको बिजलपुरा स्वास्थ्य चौकीसँग एम्बुलेन्स छैन ।
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन छ । तर बेथा लागेका सुत्केरीलाई सेन्टरसम्म ल्याउन स्वास्थ्य संस्थासँग एम्बुलेन्स छैन । एम्बुलेन्स मात्रै होइन यहाँ नागरिकहरू डाक्टरी उपचारका लागि १३ किलोमिटर टाढा बर्दिबासका सरकारी तथा निजी अस्पतालमा जानु परेको छ ।
‘बेथा लागे कसरी जाने बर्थिङ सेन्टर ?’
बिजलपुराको लामा टोलकी २२ वर्षीय सवाना खातुन ८ महिनाकी गर्भवती हुनुहुन्छ । एक महिनापछि उहाँ बच्चको आमा बन्दै हुनुहुन्छ । तर, उहाँलाई गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउन भने समस्या हुने भएको छ । कारण बिजलपुरा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा एम्बुलेन्स छैन । यसले गर्दा उहाँलाई समस्या चुलिएको हो । यो समस्या उहाँलाई मात्रै होइन् बर्दिबास नगरपालिका वडा नम्बर— १३ मा गर्भवति रहेका ६७ जना महिला दिदीबहिनीको साझा समस्या बन्न पुगेको छ । गर्भवति सवाना खातुन भन्नुहुन्छ, ‘सुत्केरी बेथा लागे कसरी जाने बर्थिङ सेन्टर ? गाउँमा हजुर एम्बुलेन्स त छैन ।’
गाउँमा कोही बिरामी भएपनि बर्दिबासबाटै एम्बुलेन्स बोलाएर उपचारका लागि पठाउने गरिएको बिजलपुरा स्वास्थ्य चौकीका व्यवस्थान समितिका सदस्य श्यामप्रसाद महतोले दुःख सुनाउनुभयो ।
जनशक्ति छ, एम्बुलेन्स छैन
बर्थिङ सेन्टरमा सुत्केर गराउने ३ जना जनशक्ति छन् । सुत्केरी बेथा लागेकी महिलालाई गाउँबाट सेन्टरसम्म ल्याउनका लागि आफुहरूसँग एम्बुलेन्स नभएको सेवा प्रदान गर्न समस्या चुलिदै गएको बिजलपुरा स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत तथा प्रमुख बिजयकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो स्वास्थ्य संस्थामा एम्बुलेन्स नभएको कुरा सत्य हो । समस्या त धेरै नै हुन्छ यसले । सुत्केरी बेथा लागेका गर्भवती महिलालाई स्वास्थ्य चौकीसम्म ल्याउनका लागि पनि फोन गरेर बर्दिबासबाटै एम्बुलेन्स मगाउनुपर्ने बाध्यता छ ।’
२०८० साउन २० गतेबाट बिजलपुरा स्वास्थ्य चौकीमा सुत्केरी गराउने सेवा सुरु भएको थियो । आर्थिक वर्ष २०८०—०८१ मा २५ जना, २०८१—०८२ मा ३५ गर्भवति महिलाले बिजलपुरा स्वास्थ्य चौकीमा सुत्केरी गराएको बिजलपुरा स्वास्थ्य चौककी सिनियर अनमी धनमन्ती मोचीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा स्वास्थ्य संस्थामा निकै कष्ट गरेर सुत्केरी गराउन आएका ८ जना महिलालाई बर्दिबासबाटै एम्बुलेन्स बोलाएर बर्दिबास सरकारी अस्पतालमा रेफर गरिएको थियो ।
सुत्केरी गराउन एम्बुलेन्स सेवा नभएकाले समस्या भए पनि जन्मेका बच्चाहरूलाई भने स्वास्थ्य संस्थाले पूर्णरूपमा खोपा लगाइएको छ । चालु आर्थिक वर्षको १० महिनामा ७९ बच्चाहरूलाई ११ प्रकारका खोप लगाइएको जनाइएको छ । चालु आर्थिक वर्षमा ७४ जना बच्चालाई पूर्णखोप लगाउने लक्ष्य लिएको थियो । खोप कार्यक्रमकी प्रमुख समेत रहनु भएकी सिनियर अनमी धनमन्ती मोचीले खुसी व्यक्त गर्दै भन्नुभयो, ‘अभाव छ । तर, पनि हामी सबै स्वास्थ्यकर्मी, स्वंमसेवीकाहरू रात दिन खटेर खोप लगाउने लक्ष्य १ सय ४ प्रतिशमा पुर्याएका छौं ।’
बुधबारका दिन एक समारोहकाबिच बर्दिबास नगरपालिका वडा नम्बर १३ लाई पूर्णखोप घोषणा तथा दिगोपन सुनिश्चतता घोषणा गरिएको छ । ‘स्थानिय श्रोत उपभोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चता तथा दिगोपना हाम्रो प्रतिबद्वता’ भन्ने नारासहित वडालाई सो घोषणा गरिएको बर्दिबास नगरपालिकाका स्वास्थ्य सह—संयोजक रामबाबु यादवले बताउनुभयो ।
बर्दिबास नगरपालिका वडा नम्बर १३ का वडा सदस्य ठकाई महताले बिजलपुरामा असार मासान्त भित्रैमा जसरी पनि एम्बुलेन्स खरिद गरेर ल्याउन वडाध्यक्ष लक्ष्मण सिंहलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘बिजलपुरा बर्थिङ सेन्टरले पाएको एम्बुलेन्स पनि बर्दिबास सरकारी अस्पतालको कब्जामा छ । सुत्केरीलाई व्यथा लाग्यो भने एम्बुलेन्सका लागी घण्टौ कुर्नु पर्ने अवस्था छ । हामीले एम्बुलेन्सको उद्वघाटन पनि गर्यौ तर एम्बुलेन्स कता छ कसैलाई थाहा भएन ।’
२०७४ सालमा स्वास्थ्य मन्त्रालयले बिजलपुरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको थियो । बिरामी लिएर काठमाडौँ जाँदै गर्दा बाटोमै एम्बुलेन्स दुर्घटना भएको थियो । मर्मतपछि त्यो एम्बुलेन्सलाई बर्दिबास नगरपालिकाले बर्दिबास सरकारी अस्पतालमा शव वाहनको रूपमा प्रयोगमा ल्याएको थियो ।
किन खरिद गरिन्छ कम म्याद भएको औषधी ?
वडा सदस्य ठकाई महतोले स्वास्थ्य चौकीमा औषधी म्याद नाघनेबेलाका औषधीहरू बर्दिबास नगरपालिकाले पठाउने गरेको बताउनुभयो । औषधी कम्पनी र वितरकसँग बर्दिबास नगरपालिकाका कर्मचारीहरूले कमिसनको लोभमा सेटिङमा औषधी खरिद गर्ने गरेको उहाँले कथा सुनाउनुभयो ।
‘आर्थिक वर्षको सुरुमै औषधी खरिद गरिँदैन । बजेट फ्रिज हुने बेलामा औषधी खरिद गर्ने गरिन्छ’, औषधी नष्ट गर्नु पर्ने कारण बारे उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यस्तो औषधी खरिद गरिन्छ जसको म्याद एक वर्ष पनि हुँदैन । औषधी त आउँछ स्वास्थ्य चौकीमा तर, चाडै म्याद सक्छ, लाखौं रुपियाँको औषधी गाडेर नष्ट गर्नुपर्छ ।’
स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधीहरू पाउने गरेको बताउँदै बिजलपुरा स्वास्थ्य चौकीका प्रमुख बिजयकुमार सिंहले औषधी खरिद नगरपालिकाले आफै गर्ने गरेको सुनाउनुभयो । उहाँका अनुसार सबै वडामा रहेको स्वास्थ्य संस्थामा समान तरिकाले औषधी पठाउने गरेको परम्परालाई सुधार गर्नुपर्छ । बिरामीको चाप, वडाहरूको जनसङ्ख्याका र मागको आधारमा स्वास्थ्य संस्थाहरूमा जनशक्ति, उपकरण, औषधी तथा भौतिक संरचना व्यवस्थान गर्नुपर्नेमा जनस्वास्थ्य प्रमुख सिंहले जोड दिनुभयो ।
यसैगरी, बर्दिवास नगरपालिकाले समयमा एम्बुलेन्स उपलव्ध गराउन नसकेन वडा कार्यालयको बजेटबाटै पनि एम्बुलेन्स खरिद गर्नेे बर्दिबास नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थान समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिनुभयो । उहाँलेका अनुसार अब बिजलपुरा स्वास्थ्य चौकी साउन महिनादेखि चौबीसै घण्टा इमर्जेन्सी सेवा सज्चालन गर्न तयारी भइरहेको छ । यता बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बिजलपुरा स्वास्थ्य चौकीलाई चालु आर्थिक वर्षमै एम्बुलेन्स खरिद गरेर हस्तान्तरण पर्ने बताउनुभएको छ ।