माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), असार १ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित जोखिमको पूर्वआङ्कलन गरी तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बलसहित सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराको २४ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले गण्डकी प्रदेश सबैखाले विपद्को उच्च जोखिममा रहेकोले विपद् प्रतिकार्यको लागि तयारी रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।
“गण्डकी प्रदेश जल उत्पन्न प्रकोपको दृष्टिकोणबाट पनि अति नै जोखिमयुक्त छ,” उहाँले भन्नुभयो, “यस वर्ष औषतभन्दा बढी वर्षा भई बाढी पहिरोबाट ठूलो धनजनको क्षति हुने पुर्वानुमान गरिएकाले यसप्रति सचेत रहन सबैलाई आग्रह गर्दछु ।” उहाँले सरोकारवाला निकायहरुसँग सहकार्य र समन्वय गरी आगामी दिनमा मनसुनजन्य विपद् प्रतिकार्यको लागि कार्ययोजनाका साथ परिचालन हुन, उद्धार, उपचार, राहतमा क्रियाशिल रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा, भूकम्प, कोरोना महामारी, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठान सुरक्षा, राजश्व भन्सार तथा औद्योगिक सुरक्षा, हुल तथा दङ्गा व्यवस्थापन र विपद्मा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशभित्र शान्ति सुरक्षालाई मजवुत बनाउन, नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न प्रदेश सरकारले, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी लगायत सबै सुरक्षा निकायसँग समन्वय र सहकार्य गरेको भनाइ मुख्यमन्त्री पाण्डेको छ ।
सीमित साधन स्रोतकाबिच प्रदेश सरकारले क्षमता विकास, राहत, उद्धार, भौतिक संरचना निर्माण लगायतको क्षेत्रमा सुरक्षा निकायलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले देश र जनताप्रति समर्पित भएर सशस्त्र प्रहरी बलले कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा मुक्तिनाथ बाहिनीलाई सहयोग गर्ने, दिवसको अवसरमा आयोजना गरिएका खेलकुदका विजेताहरु, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु, विभिन्न विधामा पुरस्कृत हुन सफल प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा मुक्तिनाथ बाहिनीलाई रचनात्मक सहयोग गरी उल्लेखनीय योगदान गरेको भन्दै गोरखापत्र दैनिकका गण्डकी प्रदेश संयोजक रमेश पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, एआइजी नारायणदत्त पौडेल, मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाह लगायतले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारहरुदले विविध साँस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।