फडिन्द्र अधिकारी
लेखनाथ, असार १ गते । गण्डकी प्रदेशसभामा आज दिउँसो ४ बजे आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुुहुन्छ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट ३२ अर्ब ७७ करोड आसपासको आउने जनाएको छ । गण्डकी प्रदेशले आइतबार ल्याउने यो नवौँ बजेट हो ।
चालु वर्षभन्दा आगामी वर्षको बजेट साढे तीन अर्ब कम हुने अनुमान गरेको थियो । समितिले आर्थिक वर्ष २०८२–८३ का लागि २९ अर्ब ५० करोडको बजेट ल्याउन सिफारिस गरेकोमा योजनाको चापका कारण चालु वर्षकै हाराहारीको बजेट ल्याउन लागिएको हो ।
आर्थिक मामिलामन्त्री डा. गुरुङ चालु वर्ष ७० प्रतिशत हाराहारी बजेट खर्च हुने र आगामी वर्ष चालु वर्षकै हाराहारीको बजेट आउने बताउनुभयो । देशका प्रमुख ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन बनेपछि प्रदेशमा पहिलो बजेट ल्याउन लागिएको हो ।
डा. गुरुङ चालु वर्षकै हाराहारीको बजेट आए पनि आगामी वर्ष खर्च भने अझ बढ्ने बताउनुहुन्छ, “राजनीति स्थायित्व र विगतको अनुभवले गर्दा आगामी वर्ष बजेट खर्च अझ बढ्छ भन्ने हाम्रो अपेक्षा छ ।’
यता, चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा सरकारले आधा बजेट पनि खर्च गर्न सकेको छैन । ३२ अर्ब ९७ करोडको बजेटमध्ये जेठ मसान्तसम्म ४७.५ प्रतिशतमात्रै खर्च भएको छ । गण्डकी प्रदेशमा सामर्थ्य भन्दा १० अर्ब बढीको बजेट बन्दैआएका छन् । ७० प्रतिशतभन्दा बढी बजेट खर्च भए भुक्तानी दिन सम्भव नहुने प्रदेश लेखा नियन्त्रक कार्यालयले बताउनेगरेको छ ।