• १ असार २०८२, आइतबार

सातबुँदे घोषणापत्र जारी गर्दै मातृभाषा पत्रकारहरुको सम्मेलन सम्पन्न

blog

समापन कार्यक्रममा सातबुँदे घोषणापत्र सार्वजनिक गर्दै अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार १ गते । ललितपुर र भक्तपुरमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारहरुको सम्मेलन २०८२ सम्पन्न भएको छ । नेवा राष्ट्रिय पत्रकार दवुको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सार्क जर्नालिष्ट फोरमको समन्वयमा आयोजित सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गरेको छ ।

सम्मेलनको सभामुख देवराज घिमिरेले गत शुक्रबार उदघाटन गर्नुभएको थियो । सम्मेलनको समापन मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले समापन गर्नुभयो । समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख श्रेष्ठले मातृभाषाको प्रवर्धनका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 


नेवा पत्रकार राष्ट्रिय दवुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा फोनिजका अध्यक्ष लक्की चौधरी, सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामा, सम्मेलनका संयोजक सुनिल महर्जन, पत्रकार के.के मानन्धर, भारत तथा बङ्गलादेशका सहभागी पत्रकारले मातृभाषाको महत्व र यसको संरक्षणको अपरिहार्यताबारे धारणा राख्नुभएको थियो ।  


घोषणापत्रमा सम्मेलनले जारी गरेको घोषाणपत्र सार्क देशका प्रमुखहरुलाई हस्तान्तरण गर्ने, मतृभाषी पत्रकारको क्षमता वृद्धि तथा मातृभाषाका सञ्चार गृहको प्रवर्धनमा सरकारसँग आवश्यक बजेट माग गर्ने, मातृभाषा पत्रकारिताका विषयमा सरोकारवाला पक्षहरुसँग नियमित छलफल गरी यसबारे सचेतीकरण गर्नेलगायतको विषय समेटिएको छ ।