कल्याणपुर समाचारदाता
कल्याणपुर (सप्तरी), असार १ गते । सप्तरीमा आइतबारदेखि अनलाइन नागरिकता सिफारिस सुरु हुँदै छ । नेपाली नागरिकता वितरणसम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यले असार १ गतेबाट अनलाइन सिफारिस लागु हुने भएको हो ।
सप्तरीका सबै स्थानीय तहलाई केन्द्रीय नागरिकता सूचना प्रणाली (सिसिआइएमएस) को प्रयोग गरी नागरिकताका लागि अनलाइन प्रणालीबाट सिफारिस गरेर पठाउन सम्पूर्ण तयारी पूरा भइसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
उहाँले गृह मन्त्रालय सूचना प्रविधि शाखाले जेठ २६ गते पठाएको पत्रानुसार असार १ देखि यस कार्यालयमा नागरिकतासम्बन्धी सेवा लिन आउने सेवाग्राहीले सम्बन्धित पालिकाको वडा कार्यालयबाट अनलाइन सिफारिस लिएर आउनुपर्ने बताउनुभयो । अनलाइन सिफारिसका लागि दुई महिनाअघिदेखि तयारी थालिएको र जिल्लाका १८ वटै पालिकाका जनशक्तिलाई त्यसका लागि तालिमसमेत दिइसकिएको प्रशासकीय अधिकृत जितेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।