काठमाडौँ, जेठ २९ गते। विज्ञान प्रविधि तथा शिक्षामन्त्री रघुजी पन्तले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा पालिकालाई दिने गरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ।
बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा प्रमुख अतिथिको आसनबाट मन्त्री पन्तले सो कुरा बताउनुभएको हो।
उहाँले विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालय गाभेर शिक्षक र विद्यार्थीको सङ्ख्या पूरा गर्ने र यसबाट आर्थिक भार पनि कम पर्ने भन्दै यसका लागि पालिकाले पनि सघाउनुपर्ने बताउनुभयो।
यसैगरी मन्त्री पन्तले एक महिनाभित्र विद्यालय शिक्षा ऐन जारी हुने र शिक्षक समायोजन तथा विद्यालय गाभ्ने प्रक्रिया पनि सुरु गरिने बताउनुभएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका–९ का वडाध्यक्ष राजीव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको आशनबाट सङ्घीय संसद, अर्थसमितिका सभापति सन्तोष चालिसेले विद्यालयले प्रमाणपत्र मात्र दिएर शिक्षा दिएको नठानिने हुँदा अब सीप र क्षमता दिनुपर्ने बताउनुभयो।
उहाँले मुलुकको आवश्यकता अनुसार शिक्षा प्रणालीलाई समयानुकुल परिमार्जन गर्नु आवश्यक रहे पनि नेपालको शिक्षा कहिले बेलायती मोडल र कहिले भारतीय मोडलमा जाँदा यता न उताको भएको भन्दै अब नेपाली मोडलको शिक्षा आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले विद्यालयमा दरबन्दी कम रहेको, नगरपालिकाले शिक्षाका लागि मात्र वार्षिक तीन करोडभन्दा बढी खर्च गरिरहेको बताउँदै शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्री पन्तको ध्यानाकर्षण गराउनुभयो।
समारोहलाई संविधानसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामश्वर फुयाँलले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो भने पूर्व विद्यार्थी तथा काठमाडौँ-३ का पूर्व सांसद कृष्णबहादुर राई, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, अरुणोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्याल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, शिक्षा क्षेत्रका विविन्न व्यक्तित्वहरूले आफ्नो मन्तव्य राख्नुभएको थियो।
महोत्सवमा विद्यालयमा अध्यन गरी समाजमा उदाहरणीय कार्य गरेका विभिन्न पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो। त्यस्तै अवकाशप्राप्त शिक्षक, २० वर्ष सेवा गरेका शिक्षक, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो।
विद्यालय प्राङ्गणमा रहेका सरस्वती मन्दिरमा पूजा गरेर शुभारम्भ भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रधानाध्यापक नरबहादुर गुरुङले वार्षिक विवरण तथा भाबी योजना प्रस्तुत गर्नुभएको थियो।