• ३० जेठ २०८२, शुक्रबार

स्थानीयद्वारा कावासोती विद्युत प्राधिकरण घेराउ

blog

स्थानीयद्वारा कावासोती विद्युत प्राधिकरण घेराउ ।

बोमलाल गिरी

नवलपुर, जेठ २९ गते । कावासोतीका स्थानीयले विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् ।

अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला कावासोतीमा साँझ तथा रातको समयमा दैनिकजसो पटकपटक विद्युत् सेवा अवरुद्ध हुन थालेको भन्दै स्थानीय उपभोक्ताले बुधवार राति नारावाजीसहित कार्यालय घेराउ गरेका हुन् ।

मङ्गलबारदेखि नवलपुरमा अत्यधिक गर्मी बढेको छ भने लाइन पनि पटक पटक काटिने गरेको छ । यहाँ अहिले न्यूनतम तापक्रम २९ डिग्री र अधिकतम तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

मङ्गलबार साँझदेखि राति ११ बजेसम्म १८ पटकसम्म लाइन काटिएको स्थानीय उपभोक्ता रामकुमार श्रेष्ठले गुनासो गर्नुभयो । श्रेष्ठले बुधबार साँझदेखि राति १० बजेसम्म १२ पटक झ्यापझ्याप बिजुली काटिएको बताउनुभयो ।

लाइन आउन नपाई काटिने समस्याले आफूहरु दिक्क भएकोले कार्यालय घेराउ गर्नुपरेको अर्का स्थानीय अनमोल थापा मगरले बताउनुभयो । उनीरुले बुधवार राति १० देखि ११ बजेसम्म कार्यालयमा नारा जुलुससहित घेराउ गरेका थिए ।

तर प्राधिकरणले भने बिहीवार बेलुकादेखि समस्यामा कमी आउने दाबी गरेको छ । प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्य मण्डलले बिहीवार साँझदखि समस्यामा कमी आउने बताउनुभयो।

लाइनमा समस्या आएकोले पत्ता लगाउने क्रममा बिजुली आउने जाने समस्या भइरहेको मण्डलको भनाइ छ । ३५ मेघावाटसम्म लोड भएको र कावासोतीमा यो अहिलेसम्मकै बढी रहेको मण्डलले बताउनुभयो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कावासोती नगर कमिटीले प्राधिकरणलाई ज्ञापन पत्र बुझाएको छ । विना पूर्व सूचना विद्युत् आपूर्ति बन्द गर्नुको कारण, बन्द गर्नु अघि सूचना दिनुपर्ने, उपभोक्ताले सम्पर्क गर्दा सम्बोधन गर्नुपर्ने लगायत ८ बुँदे माग राखेर प्राधिकरणलाई ज्ञापन पत्र बुझाएको रास्वपा कावासोती नगर कमिटी अध्यक्ष मोहन बस्नेतले जानकारी दिनुभयो ।