• ३० जेठ २०८२, शुक्रबार

नेपाली चलचित्र 'परी'को छायाङ्कन भानुजन्मस्थलमा हुने

blog

चलचित्र 'परी'का टिमहरु ।

अमरराज नहर्की

तनहुँ, जेठ २९ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा नेपाली चलचित्र परीको छायाङ्कन हुने भएको छ । निर्माण पक्षले चलचित्र छायाङ्कनको लागि भानु नगरपालिकासँग सम्झौता गरेको छ । 

गोविन्द गौतमको लेखन तथा निर्देशन रहने यस चलचित्र छायाङ्कन यही जेठ-३१ गतेबाट असार ९ गतेसम्म गरिने भएको हो ।

भानु नगरपालिकास्थित आदिकविको जन्मस्थल चुँदीरम्घा र यस आसपास बाङ्गे रह ,पन्चनगर, अधिकारी गाउँ, चन्द्रावती स्कुललगायतको ठाउँहरुमा छायाङ्कन हुने निर्देशक गौतमले जानकारी दिनुभयो। भानुजन्मस्थल र यसवरपर सुन्दर ठाउँ धेरै भएकोले पर्यटन प्रवर्द्धनमा मद्दत पुगोस् भनेर छायाङ्कनको लागि छनोट गरिएको उहाँले जानकारी दिनुभयो । 

फिल्मका मुख्य कलाकार किरण केसी (रातामकै), दिनेश डिसी, दीपाश्री निरौला, प्रियङ्का कार्की, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल , दिग्विजय केसी, श्याम राई, घनश्याम गिरी,  सङ्गम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलालगायतको अभिनय रहेकाे गौतमले जानकारी दिनुभयो । 

बाबु श्रेष्ठको छायाङ्कन रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । फिल्ममा द्वन्द्व रोशन श्रेष्ठ, सङ्गीत दीपक शर्मा र विकास चौधरीको रहनेछ । फिल्मका प्रोजेक्ट म्यानेजर सुवास काफ्ले हुनुुहुन्छ ।

चलचित्रको शुभसाइत जेठ ३१ गते भानु–५ बाङ्गेरह कालिका मन्दिरमा हुनेछ । छायाङ्कनको लागि भानुजन्मस्थललाई छनोट गरेको प्रति खुसी व्यक्त गर्दै भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले चलचित्र छायाङ्कनले स्वदेश तथा विदेशमा भानुजन्मस्थलको प्रचार प्रसार पुग्ने भएकोले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कलाकार, प्राविधिक, व्यवस्थापक, निर्देशकलगायतको गरी करिब एक सय जनाको टिम चलचित्र छायाङ्कनको लागि आएको र लामो समय छायाङ्कन हुने भएकोले स्थानीय पर्यटन व्यवसायीमा खुसी छाएको स्थानीय सञ्चारकर्मी राजेश कार्कीले बताउनुभयो ।