अनिल पराजुली
हेटौँडा, जेठ २९ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित गरिएको छ । खोप कार्यक्रमअन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषित गरिएको हो ।
कार्यक्रममा खोप समन्वय समितिको तर्फबाट जिल्ला खोप समन्वय समिति सदस्य सचिव कृष्णबहादुर मिजारले पालिका पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र पालिका अध्यक्ष धर्मराज लामिछानेलाई हस्तान्तरण गर्नुभएको थियो । घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश फुयाँल, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र वडाध्यक्षहरूको सहभागिता थियो । गाउँपालिकामा १५ महिनासम्मका कुल ५८० जना बालबालिका र १६ देखि ५९ महिनासम्मको एक हजार ८६४ जना बालबालिका छन् । उहाँहरु सबैले खोप लगाउनुभएको स्वास्थ्य शाखा प्रमुख फुयाँलले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष माघ, फागुन र चैत महिनाभित्र स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्वेक्षण गरी १६ देखि २३ महिनाभित्रका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता कायम गर्ने प्रतिबद्धतामा उल्लेख छ । यस्तै, खोपको पहुँच बढाई खोप लगाउन छुटेका बालबच्चाहरूलाई पूर्ण खोप सुनिश्चित गर्न हरेक वर्षको वैशाख महिनालाई ‘खोज र खोप’ अभियानमार्फत नियमित खोप सेवा प्रदान गरिनेछ । नियमित खोप कार्यक्रमको सुदृढीकरणसँगै पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि हरेक वर्ष गाउँपालिका, वडा पालिकाले अनुगमन गरी असार महिनाभित्र अनुगमन गरी प्रमाणीकरण गरिने छ । १२ वटा वडामा विभाजित पालिकामा १२ वटा स्वास्थ्य संस्था छन् ।
दसवटा स्थानीय तह रहेको मकवानपुर जिल्लालाई असार महिनाभित्रै पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्ने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । यसअघि हेटौँडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो । बागमती गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।