विनय कर्ण
कल्याणपुर, (सप्तरी) जेठ २९ गते । सप्तरीमा औषधी खुवाएर अवैध तरिकाले गर्भपतन गराउँदा महिलाको अवस्था चिन्ताजनक छ ।
सप्तरीको हनुमाननगर कंकालिननी नगरपालिका–२ की २० वर्षीया सनिसा कुमारी खंगलाई औषधी खुवाएर अवैध तरिकाले गर्भपतन गराइएको हो ।
सनिसाको सोही वडा निवासी २३ वर्षीय शिवजी खंगसँगको प्रेमसम्बन्धबाट गर्भ रहेको थियो । सनिसाको गर्भ रहेपछि शिवजीका बुबा परमेश्वर खंगा र आमा झुलफुल देवीले बुधबार कुटपिट गर्दै जबरजस्त औषधी खुवाएर गर्भपतन गराएका थिए ।
सनिसाको पेटमा प्रेमी शिवजीको चार महिनाको गर्भ रहेको उहाँका परिवारजनको भनाइ छ । छोरीलाई जबरजस्ती औषधी खुवाइएपछि उनको चार महिनाको गर्भ तुहिएको र छोरीको अवस्थासमेत चिन्ताजनक रहेको आमा सतनी देवीले बताउनुभयो । सनिसाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरीको सहयोगमा अस्पताल ल्याइएको सनिसाको स्वास्थ्य परीक्षण गर्दा गर्भमा रहेको बच्चा तुहिएको पाइएको र औषधीको प्रभावले त्यस्तो भएको चिकित्सकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले आरोपी परमेश्वर खंग र झुलफुल देवीलाई बुधबार नै पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँले पक्राउ परेका खंग दम्पतीमाथि कुटपीट तथा भ्रूण हत्यासम्बन्धी मुद्दा चलाइने बताउनुभयो ।
यस अघि विवाहको प्रलोभन देखाई आफूसँग पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी हाल फरार भएको भन्दै सनिसाले प्रहरीमा उजुरी दिनुभएको थियो ।