कालीकोट समाचारदाता
कालीकोट, जेठ २९ गते ।कालीकोटको तिलागुफा नगरपालिकाका बासिन्दालाई बर्खा लाग्नेबित्तिकै चिन्ता पनि बढ्ने गरेको छ । बर्खा लाग्नेबित्तिकै तिला नदीमा पानीको बहाब बढ्ने भएकाले सडक यात्रा पूर्ण रूपमा बन्द हुने गर्दछ । तिला नदीमा बनेको पक्की पुल बगाएको तीन वर्ष पुग्दै छ । २०७९ साल असोज २० देखि २४ गतेसम्म आएको हिउँदे वर्षाले पुल बगाएपछि फेरि पुल निर्माणका लागि कुनै पहल भएको छैन । हिउँदको समयमा पानीको मात्रा कम हुने भएकाले काठे पुलमार्फत गाडी, मोटरसाइकल चलाउने गरिएको छ तर बर्खा सुरु भएसँगै यी सबै बन्द हुने गर्छन् ।
अहिले काठको पुलसमेत बगाएपछि दुईतिर गाडी, मोटरसाइकल रोकिएका छन् । तिलागुफा नगरपालिका–९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले भन्नुभयो, “हाम्रा चिन्ता लिने दिन आइसकेका छन्, अब मङ्सिर पुससम्म गाडीको यात्रा गरेर सहर जाने बाटो बन्द भयो ।” पुल बगाएको तीन वर्ष पुग्दा पनि नबनाउँदा तिलागुफा नगरपालिकाको तीन वटा वडाका साथै सिङ्गो महाबै गाउँपालिकाका बासिन्दा यातायात सेवाबाट छ महिनासम्म वञ्चित हुने गरेका छन् ।
स्थानीय बिर्ख सुनारले पुल बनाउन न नगरपालिकाले चासो लिएको छ, न त प्रदेश, सङ्घ सरकार कतैबाट पनि यहाँका नागरिकको समस्यामा चिन्ता नभएको बताउनुभयो । वडा नं. १० का वडाध्यक्ष मुनबहादुर थापाले नगरपालिकामा पटक पटक कुरा गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भनेर सुन्दैनन्, झगडा गरौँ सकिँदैन, बरु चुप लागेपछि ठिक भनेर आफू चुपचाप लागेको छु ।”