• ७ जेठ २०८१, सोमबार

वीरेन्द्रनगरको एकीकृत भवन शिलान्यास

blog

नवीन सुवेदी

सुर्खेत, जेठ ३१ गते । वीरेन्द्रनगर नगरपालिकाको बहु–प्रतिष्ठित एकीकृत भवन निर्माण हुने भएको छ । नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित र सहज बनाउन नगरपालिकाको भवनको शिलान्यास गरिएको छ । नेकपा एमालेका इन्चार्ज एवम् कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेल, नगर–प्रमुख मोहनमाया ढकाल र निवर्तमान नगरप्रमुख देवकुमार सुवेदीले सामूहिक रुपमा नगरपालिकाको भवन शिलान्यास गर्नुभएको हो । 

हाल नगरपालिका भवनबाट सेवा प्रवाहमा असहजता भएपछि नयाँ भवन शिलान्यास गरिएको नगरपालिकाले जनाएको छ । १० करोड ७१ लाख लागत लाग्ने अनुमान गरिएको भवनमा लिफ्टसहित पाँच तला रहनेछ । नयाँ बन्न लागेको भवन लिफ्टसहित अपाङ्गमैत्री हुने नगरपालिकाले जनाएको छ । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनमाया ढकालले संविधानले स्थानीय तहलाई सेवा प्रवाह गर्ने निकायका रुपमा परिभाषित गरेको उल्लेख गर्नुभयो । उहाँले सेवाग्राहीको बढ्दो चापले हाल सञ्चालनमा रहेको भवनबाट सेवा दिन अफ्ठ्यारो भएपछि नगरपालिकाले नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

संविधानमा प्रदत्त नागरिकको मौलिक हकको रक्षा गर्दै नागरिकसँग जोडिएर काम गर्नु स्थानीय तहको दायित्व रहेको भन्दै नागरिकलाई थप गुणस्तरीय सेवा प्रवाहमा विस्तार गर्नकै लागि भवन बनाउन लागिएको उल्लेख गर्नभयो । 

नगरको समग्र विकास र समृद्धिका लागि नगरवासीलगायत सम्बद्ध सबै निकायसँग हातेमालो गर्दै समन्वयमा अगाडि बढ्न चाहेको नगरप्रमुख ढकालको भनाइ थियो । २७ महिनामा सम्पन्न गरिसक्ने गरी निर्माण कम्पनी नेपाल पब्लिक सर्मिला जेभीले निर्माणको जिम्मा लिएको छ ।