बुटवल समाचारदाता
बुटवल, जेठ २६ गते । बुटवल उपमहानगरपालिकाले ४० जना छात्रालाई निःशुल्क इन्जिनियरिङ पढाउने भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने छोरी पढाउ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको हो ।
बुटवलमा ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ । एसएलसी वा एसइई दिई १६ वर्ष उमेर पूरा गरेका छात्राले प्रिडिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रिडिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०/२० जनाको आवेदन खुला भएको बुटवल टेक्निकल इन्स्टिच्युटले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अनुसार छोरी पढाउ कार्यक्रम अन्तर्गत अध्ययनका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम सुरु गरेको बताउनुभयो । उहाँका अनुसार यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रूपमा अगाडि बढ्ने छ । उहाँले छात्रालाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मद्दत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
नगर प्रमुख पाण्डेले भन्नुभयो, “एकातिर दक्ष जनशक्तिको अभाव छ, अर्कोतिर सिप सिक्न चाहनेको सङ्ख्या धेरै छ, अहिलेका लागि हामीले ४० जना छोरीलाई अध्ययनका लागि लाग्ने खर्च व्यवस्थापन हुने गरी सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गरेका छौँ ।”
उहाँले यसलाई नियमित रूपमा अगाडि बढाउने र थप क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । त्यसै गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका ५० जना विद्यार्थीलाई प्रतिस्पर्धाबाट छात्रवृत्ति वितरण गरेको छ ।
छात्रवृत्ति पाउनेमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १० जना विद्यार्थीलाई आठ हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ । त्यसै गरी स्नातक तह अध्ययन गर्ने २८ जना विद्यार्थीलाई १० हजार रुपियाँका दरले छात्रवृत्ति वितरण गरिएको छ । त्यसै गरी बिएस्सी एजी, आइटी इन्जिनियर, इन्जिनियर र बिफर्मा अध्ययनरत गर्ने छ जना विद्यार्थीलाई ३० हजार रुपियाँका दरले छात्रवृत्ति वितरण गरिएको छ ।
एमबिबिएस पढ्ने चार जना विद्यार्थीलाई ६० हजार रुपियाँका दरले छात्रवृत्ति वितरण गरिएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले गत वर्ष छात्रवृत्ति पाएका नदोहोरिने गरी यो वर्ष सूचना प्रकाशन गरेको बताउनुभयो ।