• २७ जेठ २०८२, मङ्गलबार

विश्वविद्यालयमा विकृत राजनीति

blog

अक्सफोर्ड डिक्सनेरीले विश्वविद्यालयलाई छोटो तर स्पष्ट परिभाषा गरेको छ । उच्च तहको शैक्षिक संस्था जहाँ शैक्षिक प्रमाणपत्रसँगै विद्यार्थीले प्राज्ञिक अनुसन्धानको पर्याप्त अनुभव हासिल गर्न सक्ने छन् । यो परिभाषाले व्यापकता समेट्छ । विश्वविद्यालय केवल शैक्षिक प्रमाणपत्र लिने संस्था मात्र नभई ज्ञान उत्पादन गर्ने पवित्र थलोसमेत हुन् । आधुनिक विश्वको अधिकांश ज्ञान प्रतिष्ठित विश्वविद्यालयबाटै उत्पादन भएको पाइन्छ । योसँगै विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रतासमेत हुन्छ । प्राज्ञिक स्वतन्त्रताका कारण विश्वविद्यालय प्रत्यक्ष शासकीय मातहतभन्दा अलि फरक हुन्छन् । ज्ञान आर्जन गर्ने प्राज्ञिक थलो भएकाले विश्वविद्यालयमा विद्यार्थीको शान्तिपूर्ण भूमिका सर्वोपरि हुन्छ । विद्यार्थीको यो भूमिकालाई सहयोग गर्न विभिन्न सङ्घ संस्थाको उपस्थिति स्वाभाविक हुन जान्छ । विश्वविद्यालयमा विद्यार्थीका सङ्घ संस्था शैक्षिक तथा प्राज्ञिक भूमिकामा सहयोगी बन्नु वाञ्छनीय हुन्छ । यो भूमिका विपरीत विद्यार्थीका सङ्घ संस्था अशान्तितर्फ केन्द्रित हुन थाले भने त्यस्ता विश्वविद्यालयको शैक्षिक प्रक्रिया अवरुद्ध हुन जान्छ । विश्वविद्यालयमा विकृति राजनीतिले ठाउँ पाउँछ । अब्बल विद्यार्थी त्यस्तो विश्वविद्यालय प्रवेश गर्न चाहँदैनन् । विकल्प खोज्न थाल्छन् । विश्वविद्यालयको शैक्षिक प्रतिष्ठामै प्रश्नचिह्न खडा हुन्छ । विद्यार्थी सङ्घ संस्थाको बाहुबली क्रियाकलाप कतिपय नेपाली विश्वविद्यालयको मूल चरित्र जस्तै बनेको विडम्बना छ । नेपालको जेठो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयलगायतका संस्था बन्द, हडताल, तालाबन्दी, तोडफोड आदिका घटनाबाट बर्सौदेखि प्रताडित छन् । यसै विकृत राजनीतिक कारणले पनि नेपाली विद्यार्थी उच्च शिक्षाकै निम्ति बिदेसिने क्रम बढ्दो छ ।

त्रिभुवन विश्वविद्यालय अहिले पनि अशान्त छ । उपकुलपति कार्यालयमा तालाबन्दी छ । केही दिनअघि त तोडफोड नै भयो । उपकुलपति कार्यालयमा मात्र होइन, अन्य पदाधिकारीको कार्यालयमा समेत तालाबन्दी र तोडफोडका घटना आइरहेका छन् । विश्वविद्यालयका उपकुलपतिका साथै शिक्षाध्यक्ष र रजिस्ट्रार पनि विद्यार्थीका हिंसाप्रेरित दुस्कार्यले कार्यालय जान सकेका छैनन् । यसबाट विश्वविद्यालयको शैक्षिक गतिविधिमा अवरोध आएको छ । विश्वविद्यालयको भौतिक सम्पत्तिमा तोडफोडका घटना भएको छ । कार्यालयमा तालाबन्दी र तोडफोड किन गरिन्छ ? ती सार्वजनिक सम्पत्तिको पहिलो लाभग्राही त विद्यार्थी नै हुन् । विश्वविद्यालयमा प्राध्यापकमाथि नै आक्रमणका घटना पनि विगतमा धेरै बाहिर आए । त्रिविका रजिस्टार केदार रिजालको भनाइले त्रासदीपूर्ण अवस्था देखाउँछ । उहाँ भन्नुहुन्छ, “हामी विश्वविद्यालयमा जान सक्ने अवस्था छैन । अति महत्वपूर्ण काम कीर्तिपुर परिसरभन्दा बाहिरका क्याम्पस तथा कार्यालयबाट सञ्चालन गरिरहेका छौँ ।” उहाँको यो भनाइले गम्भीर त्रासदिपूर्ण अवस्था प्रतिविम्बित हुन्छ । त्रिवि मात्र होइन, दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय तथा अनुसन्धान केन्द्रमा लामो समय ताल्चा लाग्यो । अनेक प्रयासले गत साता मात्र खुल्यो । विद्यार्थी सङ्गठनले विभिन्न माग राखेर पाँच महिनाभन्दा ताला लगाउँदा विश्वविद्यालयको सम्पूर्ण शैक्षिक, प्रशासनिक र आर्थिक गतिविधि रोकिनु स्वाभाविक हो । विश्वविद्यालयको सम्पूर्ण गतिविधि ठप्प पार्ने यस्ता क्रियाकलाप कुनै पनि हालतमा मान्य छैनन् । विद्यार्थी सङ्घ संस्थाले यसमा गम्भीर समीक्षा गर्नै पर्छ । असुहाउँदो काम गर्नुहुन्न ।

विश्वविद्यालय ज्ञान उत्पादन गर्ने पवित्र थलो हुन् । विश्वविद्यालय परिसरलाई सम्पूर्ण रूपमा शान्त राख्नु पर्छ र त्यसका निम्ति विश्वविद्यालय प्रशासनका साथै विद्यार्थी तथा तिनका सङ्घ संस्थाको भूमिका महत्वपूर्ण हुन्छ । विश्वविद्यालयका शैक्षिक क्रियाकलापमा विद्यार्थीलाई सहयोग पु¥याउन नै विद्यार्थी सङ्घ संस्था स्थापना हुनु पर्छ । शैक्षिक उन्नयनको गतिविधिबाहेक अन्य विकृति र निहित स्वार्थ पूरा गर्ने राजनीतिले विश्वविद्यालयको प्रतिष्ठामा प्रतिकूल प्रभाव पार्ने छ । नेपाली विद्यार्थीको ठुलो हिस्सा विद्यालय शिक्षा पूरा गरेर युरोप, अमेरिका, अस्ट्रेलियालगायतका मुलुक पुगिरहेका छन् । नेपाली विश्वविद्यालयमा शैक्षिक कार्यतालिका अनुसार पठनपाठन हुन नसक्दा पनि विद्यार्थी बाहिर जान बाध्य छन् । विद्यार्थी सङ्घ संस्थाले विश्वविद्यालयको शैक्षिक क्रियाकलापमा सकारात्मक सहयोग गर्नु पर्छ । विश्वविद्यालय प्रशासनले पनि विद्यार्थीका सर्वोपरि हितलाई ध्यानमा राखेर कार्यसम्पादन गर्नु पर्छ । विचार र सिद्धान्तका निहित र विकृत स्वार्थलाई प्रशासन, प्राध्यापक तथा विद्यार्थी र तिनका सङ्घ संस्था कसैले पनि विश्वविद्यालयको ढोकाभित्र प्रवेश नगराउँदा धेरै समस्या समाधान हुन्छ । आधुनिक प्रतिस्पर्धी विश्वमा सांसारिक ज्ञान र अभ्यासबाट पछाडि पर्दा देशको समग्र विकासमा ठुलो क्षति हुन्छ । नेपालबाट दक्ष जनशक्तिको पलायन व्यापक भइरहेको छ । जनशक्ति पलायनले देशभित्र आवश्यक दक्ष जनशक्तिको अभावसमेत हुन थालेको छ । देशको आवश्यकता तथा आकाङ्क्षासित विश्वविद्यालयको शैक्षिक उत्पादनको मेल खान पनि सकेको छैन । यी यावत् पक्षको गम्भीर समीक्षा गरी विश्वविद्यालयलाई निहित स्वार्थबाट अलग गरी शैक्षिक उन्नयनमा लाग्न अब ढिला गर्नुहुन्न ।