चाँदनी आचार्य
घोडाघोडी (कैलाली), जेठ २२ गते । कैलालीमा सडक छेउमा रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ को भालुफाँटामा बिहीबार बिहान करिब ३ः३० बजे बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको इन्जिन नभएको ट्रलीमा से ६ प ४४३६ नम्बरको मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक र पछाडी सवार अर्का व्यक्ति घाइते हुनुभएको छ । घाइते घोडाघोडी नगरपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । त्यस्तै मोटरसाइकल चालक घोडाघोडी नगरपालिका नगरपालिका ३ बस्ने २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि धनगढी लगिएको प्रहरी नायब उपरीक्षक अवस्थीले बताउनुभयो ।