हुम्ला समाचारदाता
हुम्ला, जेठ २२ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको तिलगाउँमा दुई जना मात्र बालबालिका रहेका छन् । गाउँमा जन्मेका बालबालिका सबै काठमाडौँ लैजाने क्रम बढेका कारण तिलगाउँमा बालबालिका कम बस्दै आएका हुन् ।
नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले तिलगाउँमा दुई जना मात्र बालबालिका बस्दै आएको बताउनुभयो । उहाँले मासिक खोप लगाउने कार्यक्रममा यी बालबालिका भेटिएको र अरू कुनै पनि बालबालिका नभएको जानकारी दिनुभयो । तिलगाउँमा बस्ने ती दुई बालबालिका दुई वटा घरधुरीका एक बालक र एक बालिका रहेको उहाँले बताउनुभयो ।
केही वर्षअगाडि तिलगाउँमा ६५ घरधुरी थिए । धेरैले बसाइँसराइ गरेर काठमाडौँ गएपछि हाल यहाँ २३ घरधुरीको बसोबास छ । गत वर्ष यो उमेर समूहका पाँच जना मात्र बालिबालिका रहेका थिए । तीमध्ये गत फागुन महिनामा तीन जना बालबालिकालाई काठमाडौँ लगिएको जानकारी पाएको उहाँले बताउनुभयो ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गाउँमा बालबालिका नराख्ने भएको कारण भृकुटी विद्यालय बन्द गरिएको बताउनुभयो । उहाँले सकभर गर्भवतीलाई काठमाडौँ लगेर सुत्केरी गराउने वा बच्चा जन्मिसकेपछि आमा र शिशुलाई काठमाडौँ पठाउने गरिएको जानकारी दिनुभयो ।
हाल गाउँमा रहेका दुई जना बालबालिकालाई पनि काठमाडौँ पठाउने तयारी भइरहेको बताउँदै उहाँले पहिले बर्खामा खर्कतिर लिने गरिएकामा हाल सिधै काठमाडौँ लिने चलन बढेको बताउनुभयो । गाउँमा बालबालिका नराखे पनि सरकारले उपलब्ध गराउँदै आएको बाल अनुदानको भत्ता पनि आमाले काठमाडौँमा बुझ्दै आएको वडाध्यक्ष तामाङले बतााउनुभयो ।
अब कुनै दिन तिलगाउँ बालबालिकाविहीनको अवस्थामा पुग्न सक्ने उहाँले जनाउनुभयो । बालबालिका रोक्न सकिने अवस्था नै नरहेको उहाँको भनाइ छ । गाउँ दुर्गम भएपछि पठनपाठनको सहजताका लागि पनि साना बालबालिकालाई सहरतर्फ लिने चलन बढ्दै गएको छ ।