• १३ पुस २०८२, आइतबार

किट अभावले हुन सकेन कोरोना परीक्षण

blog

बेलौरी समाचारदाता

कञ्चनपुर, जेठ २२ गते ।  कञ्चनपुरमा कोभिड परीक्षणका लागि किट अभावले कोरोनाका शङ्कास्पद बिरामीको परीक्षण हुन सकेको छैन । 

महाकाली प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि किट अभाव हुँदा बिरामी मर्कामा परेका छन् । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि भारतमा कामका लागि गएका बिरामी भएर स्वदेश फर्कन थालेका छन् । लगातार ज्वरो आउने, घाँटी दुख्ने समस्या बढेपछि घर फर्कनुभएका लालझाडी गाउँपालिका चानदेवका स्थानीय नरेश जैसीले कोरोना परीक्षण गर्न नपाएको गुनासो गर्नुभयो । १५ दिनदेखि जैसी घरमै अलग्गै बस्दै आउनुभएको छ । “कोरोनाको शङ्का लागेको छ,” उहाँले भन्नुभयो, “परीक्षण गर्न जाँदा किट अभाव भन्दै फर्काउने गरेका छन् ।”

गड्डाचौकी नाकामा परीक्षण नगरिँदा बिरामी मर्कामा परेका छन् । शुक्लाफाँटा नगरपालिका –१०, झलारीका राजेन्द्रप्रसाद जोशी नेपाल–भारत क्षेत्रमा बस चलाउँदै आउनुभएको छ तर विगत तीन सातादेखि जोशी सिकिस्त बिरामी हुनुभएको छ । लगातार टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो बढेपछि कोरोनाको शङ्का लागेर मङ्गलबार उहाँ महाकाली अस्पतालमा परीक्षणका लागि भर्ना हुनुभयो । 

डेङ्गु, मलेरिया, टाइफाइड परीक्षण गरिएको तर केही नदेखिएपछि उहाँ घर फर्कनुभयो । चिकित्सकले टाढाबाट सुरक्षित तरिकाले सबै परीक्षण गरेको तर कोरोना किट अभाव भन्दै कोरोना परीक्षण गर्न नमानेको उहाँले गुनासो गर्नुभयो । जोशीको परिवारमा अहिले पाँच जना सदस्य पनि बिरामी हुनुभएको छ । 

“परिवारमा सबै बिरामी छन्, कोरोना परीक्षणका लागि अस्पतालमा किट अभाव रहेछ” उहाँले भन्नुभयो, “सरकारले कोरोना परीक्षणको व्यवस्था गरिदिए सहज हुने थियो ।” कोरोनाको परीक्षणका लागि सरकारले समयमै उचित व्यवस्था मिलाउन उहाँले माग गर्नुभएको छ । महाकाली प्रादेशिक अस्पतालले भने कोरोना परीक्षणका लागि दैनिक जसो बिरामी आउने गरेको जनाएको छ तर परीक्षण किट अभाव हुँदा हाल कोरोना परीक्षण हुन नसकेको सूचना अधिकारी शान्तप्रसाद जोशीले बताउनुभयो । 

सूचना अधिकारी जोशीले भन्नुभयो, “पुरानो अस्पतालमा भएका परीक्षण किटको म्याद सकिएको छ, नयाँ नआएकाले परीक्षण गर्न सकिरहेका छैनौँ ।”