• २३ जेठ २०८२, शुक्रबार

हुम्लालाई राष्ट्रिय प्रसारणमा जोड्न पूर्वाधार निर्माण तीव्र

blog

हुम्लाको तुम्चमा राखिएका पोल ढुवानी गरिँदै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, जेठ २२ गते । राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुन बाँकी एक मात्र जिल्ला हुम्लामा प्रसारण लाइन विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र रूपमा भइरहेको छ । अहिले कर्णाली कोरिडोर हुँदै जिल्लाभर विद्युत्का पोल गाड्ने र दुई स्थानमा सबस्टेसनको निर्माणको काम तीव्र रूपमा भइरहेको छ । हाल अदानचुली गाउँपालिका–१, कल्खेमा ३३ केभी प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण भइरहेको छ । 

नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसनको निर्माण भइरहेको हो । राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । यसका साथै हुम्लामा दुई वटा ३३/३३ केभी क्षमताका सबस्टेसनको निर्माण भइरहेको छ । 

सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कल्खेमा सबस्टेसन निर्माणधीन छन् । दुवै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो । प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव नहुने, मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुने उहाँले बताउनुभयो । 

सुदूरपश्चिम हुँदै ११ केभीको एलटी लाइन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रिक एन्ड प्लम्बिङ सर्भिस प्रालिका सुनील घिसिङले बताउनुभयो । उहाँका अनुसार बाजुराको मार्तडी सबस्टेसनबाट कोल्टी र खत्याड हुँदै अदानचुलीको सबस्टेसनमा आउने भएकाले हाल तीन हजार पोल गाड्ने काम भइरहेको छ । 

हुम्ला र मुगुका चार वटा सबस्टेसन निर्माण गर्ने जिम्मा पाएको हेन्स टिसी कम्पनीले काम गरिरहेको तुम्च सबस्टेसनमा खटिनुभएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेसन निर्माण भइरहेको छ । २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्‍याइएको थियो । 

मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने देखिएको हो । आगामी दसैँतिहारसम्म राष्ट्रिय प्रसारण लाइन जोड्ने लक्ष्य प्राधिकरणले लिएको छ ।