काठमाडौँ, जेठ २१ गते । नेपाल नम्बर एक गल्फर सद्भाव आचार्यको कोर्स रेकर्डसहित नेपाल ‘ए’ ले ११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण जितेको छ ।
पार ७२ को गोकर्ण फेरस्ट गल्फ कोर्समा जारी प्रतियोगितामा नेपाल ‘ए’ का सद्भाव र राहुल विश्वकर्माले ३६ होलको समाप्तीसँगै २४ अन्डर दुई सय ६४ को स्कोरसहित स्वर्ण जित्नुभएको हो ।
सद्भावले दोस्रो दिन बुधबार कूल १२ अन्डर ६० स्कारेको कोर्स कीर्तिमान बनाउनुभयो । राहुलले चार अन्डर ६८ स्कोर खेल्नुभयो । नेपालले टिम स्पर्धामा दोस्रो भएको भुटानलाई २४ स्ट्रोकले पछि पारेको हो ।
निम दोर्जी तामाङ र डेचेन लेन्डुपको भुटानी टिम काउन्ट ब्याकको आधारमा बङ्गलादेशलाई पछि पार्दै उपविजेता बनेको हो । च्याम्पियनसिपको दोस्रो दिन व्यक्तिगत स्पर्धामा नेपालका सद्भाव शीर्षस्थानमा कायमै रहनुभएको छ ।
उहाँले भारतका सुमित कोटवाललाई आठ स्ट्रोकले पछि पार्नुभएको छ । सद्भावले १२ अन्डर खेल्दै यसअघि शुक्रबहादुर राईको नाममा रहेको ११ अन्डर ६१ को कोर्स कीर्तिमान तोड्नुभएको हो ।