काठमाडौँ, जेठ २० गते। महिनावारी व्यवस्थापनमा प्रयोग हुने सेनिटरी सामग्रीमा कर छुट गर्न नेपाल चिकित्सक संघले सरकारसमक्ष माग गरेको छ।
संघले विज्ञप्ति निकाल्दै महिनावारी व्यवस्थापनमा प्रयोग हुने सेनिटरी सामग्रीमा कर छुट गर्न तथा यस्ता वस्तुहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बन्नका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको हो।
स्यानिटरी प्याड, महिनावारी कप, महिनावारी ट्याम्पोन जस्ता सामग्रीमा १३ प्रतिशत कर लगाउने सरकारको निर्णय प्रति संघको ध्यानाकर्षण भएको छ।
महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार उदासीन हुँदा कयौँ महिला सेनिटरी प्याड उपभोग गर्नबाट बञ्चित हुनुका साथै महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको संघको ठहर छ।
हरेक महिना महिनावारी व्यवस्थापनमा प्रयोग हुने वस्तु सहज रुपमा उपलब्ध गराउनु सरकारको दायित्व भएपनि यस विपरित महिलाका लागि अत्यावश्यक रहेको सेनिटरी सामग्रीमा कर लगाउने सरकारको निर्णय प्रति संघले आपत्ति जनाएको छ।