• २३ जेठ २०८२, शुक्रबार

स्याङ्जा प्रशासनमा विद्युतीय टोकन प्रणाली

blog

विद्युतीय टोकन प्रणालीमा सेवा लिँदै सेवाग्राही । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ २१ गते । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन प्रणाली थालेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले भिडभाड नियन्त्रण र सेवा प्रवाह सहज बनाउन विद्युतीय टोकन प्रणाली थालेको जानकारी दिनुभयो । विद्युतीय टोकन सिस्टमबाट तत्काल राष्ट्रिय परिचयपत्रको लागि मात्र टोकन लिन सकिने व्यवस्था रहेको पौडेलले बताउनुभयो । उहाँले टोकन काटेको सेवाग्राहीले पालो आउन समयमा मात्र आएहुने अन्य समयमा अरू काम गर्न सकिने बताउनुभयो । 

सेवाग्राहीले लिएको टोकनको नम्बर अनुसार पालो आउने भएकाले सहज रूपमा सेवाग्राहीले सेवा लिने सक्ने र सुशासन पनि कायम हुने पौडेलको भनाइ थियो । यससँगै आगामी दिनमा नागरिकता, नागरिकताको प्रतिलिपी, ई–पासपोर्ट लगायतको सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन विद्युतीय टोकन सिस्टम विस्तार गर्न प्रशासनले बताएको छ । 

सेवाग्राहीलाई टोकन सिस्टमबाट सेवा प्रवाह गरिने भएपछि अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको पौडेलले बताउनुभयो । टोकन प्रणाली सुरु भएपछि सेवाग्राहीले सहज रूपमा सेवा पाउनुका साथै कार्यकक्षमा अनावश्यक भिड कम हुने गरेको राष्ट्रिय परिचयपत्र शाखाकी कम्प्युटर अपरेटर अनुप भण्डारीले बताउनुभयो । 

सेवाग्राहीलाई बिना झन्झट प्रभावकारी ढङ्गले सेवा लिन पाउने व्यवस्था गरेकाले यसलाई सधैं कायम राख्न सेवाग्राहीहरुले प्रशासनलाई आग्रहसमेत गरेका छन् । सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रका लागि मात्र नभई टोकन सिस्टम प्रशासनले प्रवाह गर्ने सबै सेवामा पनि विस्तार गर्न आग्रह गरेका छन् । 

दुई लाखभन्दा बढी मूल्य पर्ने विद्युतीय सिस्टमको टोकन मेसिन गृह मन्त्रालयको बजेटमा प्रशासनले खरिद गरेको हो । विद्युतीय टोकन सिस्टम राष्ट्रिय परिचयपत्रसँगै अन्य शाखाहरूमा विस्तार भएपछि प्रशासनबाट प्रदान गरिने सेवा प्रवाहमा थप टेवा पुग्ने छ । प्रशासन कार्यालयले सुरु गरेको विद्युतीय टोकन प्रणाली स्याङजामा पहिलो पटक गरिएको हो ।