काठमाडौँ, जेठ २१ गते । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोयलले जित हात पारेका छन् ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७–७३ ले हरायो । जितसँगै नौ खेलबाट १५ अङ्क बनाइको टाइम्स ले उपाधि होड कायम राखेको छ । एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि १५ अङ्क छ । गोल्डेनगेट र हाउण्ड्सले अझै दुई खेल खेल्न बाँकी छ ।
टाइम्सले सामुखशीमाथि चारै क्वाटरमा दबाब बनाउँदै अग्रता लिएको थियो । टाइम्सले पहिलो क्वाटर २०–१५ र दोस्रो क्वाटर २८–२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८–३९ को अग्रता बनाएको थियो ।
तेस्रो क्वाटर पनि टाइम्सले २३–२१ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटर २५–१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित हात पारेको हो ।
टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ अङ्क स्कोर गर्नुभयो । सामाखुशीका प्रज्वल महर्जनले २१ अङ्क जोड्नुभयो । टाइम्सका मनिष केसी मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो । टाइम्सले अब लिगको अन्तिम खेल हाउण्ड्ससँग खेल्न बाँकी छ ।
यस्तै दोस्रो खेलमा रोयलले कीर्तिपुरलाई ९९–९६ ले हरायो । पहिलो क्वाटरमा कीर्तिपुरले २६–२५ को अग्रता बनायो । तर रोयलले दोस्रो क्वाटरमा पुनरागमन गर्दै २८–२१ ले आफ्नो पक्षमा पार्दै हाफटाइममा ५३–४७ को अग्रता बनायो ।
तेस्रो क्वाटर रोयलले २०–१७ ले आफ्नो पक्षमा पारेको थियो ।चौथो क्वाटरमा कीर्तिपुरले ३२–२६ को अग्रता लिएपनि हार टार्न सकेन । ९६–९६ स्कोर हुँदा रोयलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै खेल जिताउनुभयो ।
रोयलका सुजन महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो । रोयलका लागि प्रसाङ ध्वज मास्केले ३१ अङ्क बनाउनुभयो । यस्तै कीर्तिपुरका लागि निश्चल महर्जनले ३३ अङ्क जोड्नुभयो ।
तेस्रो जितपछि नौ खेलबाट १२ अङ्क बनाएको रोयल कीर्तिपुरलाई नै पछि पार्दै चौथो स्थानमा उक्लिएको छ ।