काठमाडौँ, जेठ १९ गते । करिब चार वर्षसम्म चल्ने आइसिसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा चयन हुन र एकदिवसीय मान्यता प्राप्त गर्ने मञ्च हो । त्यसैले नेपाली क्रिकेटका लागि यो प्रतियोगिता सधैँ महत्वपूर्ण रहँदै आएको छ । विश्वका उत्कृष्ट आठ एसोसिएट टिम सहभागी यस प्रतियोगिताको शीर्ष पाँचमा रहे एकदिवसीय मान्यता प्राप्त हुने र शीर्ष चारमा स्थान बनाउन सके विश्वकप छनोटमा स्वतः चयन हुने प्रावधान रहेको छ ।
यद्यपि यसपालि यो अभियानमा नेपालको सुरुवात कमजोर रहेको छ । नेपाल हाल १२ खेलबाट मात्र छ अङ्क बनाएर पुछारमा छ । नेपालले दुई खेलमा जित र आठमा हार बेहोरेको छ । दुई खेल अनिर्णित बनेका थिए । त्यसैले ग्लोबल छनोटमा चयन हुने अभियानमा नेपालले घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्स सामेल त्रिदेशीय शृङ्खलामा पुनरागमन गर्न अत्यावश्यक छ । नेपालले सोमबार (आज) घरेलु टिम स्कटल्यान्डविरुद्ध पहिलो खेल खेल्दै छ ।
नेपालले घरेलु मैदानमा भएको पहिलो शृङ्खलामा चारमध्ये तीन खेल हारेर खराब सुरुवात गरेको थियो । त्यसपछिका दुई शङ्खलाबाट पनि नेपालले मात्र चार अङ्क बनाउन सकेको छ । यद्यपि नेपालले अझै २४ खेल खेल्न बाँकी छ । स्कटल्यान्ड र नेदरल्यान्ड्सले नेपालभन्दा आठ खेल बढी खेलिसकेका छन् ।
डिभिजन–२ मा कमजोर सुरुवात नेपालका लागि नयाँ भने होइन । पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालले २४ खेल खेल्दा मात्र आठमा जित हात पारेको थियो । नेपाल सुरुदेखि नै पुछारबाट दोस्रो स्थानमाथि उक्लन सकेको थिएन । यस्तो अवस्थामा शीर्ष पाँचमा रहेर आफ्नो एकदिवसीय मान्यता जोगाउनेमा नै शङ्का थियो । नेपालले शीर्ष तीनमा स्थान बनाएर विश्वकप छनोटमा स्वतः चयन हुने कुरा अकल्पनीय हुने नै भयो । नेपालले एकदिवसीय मान्यता जोगाउन बाँकी १२ मध्ये नौ र शीर्ष तीनमा रहन ११ खेल जित्नुपर्ने समीकरण बनेको थियो तर नेपालले साढे एक महिनामा यो समीकरण उल्ट्याएर कायापलट ग¥यो । मोन्टी देसाइको प्रशिक्षकत्व र रोहित पौडेलको नेतृत्वमा रहेको नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा पनि स्वतः चयन भयो । जुन विश्व क्रिकेटमा एक चमत्कारका रूपमा लिइएको छ । नेपाली क्रिकेट पुनः त्यही प्रदर्शनलाई प्रेरणा लिएर स्कटल्यान्डमा खेल्ने पक्का छ ।
देसाईको स्थान लिनुभएका अस्ट्रेलियाली प्रशिक्षक स्टुवार्ट लको यो पहिलो जिम्मेवारी पनि हो । त्यसैले पनि यस शृङ्खलामा नेपालको प्रदर्शन सबैको चासोको विषय बनेको छ । प्रशिक्षक लले नेपाल आउनेबित्तिकै आफूलाई हार मन नपर्ने मात्र होइन हारप्रति घृणा नै छ, भन्नुभएको थियो । त्यसैले पनि लले नेपाली टिमलाई कसरी तयार पार्नुभएको छ, त्यो हेर्नलायक हुने छ ।
डिभिजन लिग–२ को अङ्क तालिकामा नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड चौथो स्थानमा रहेकाले यो शृङ्खला नेपालका लागि सहज भने हुने छैन । स्कटल्यान्ड गत विजेता पनि हो । नेदरल्यान्ड्स एकदिवसीय अन्तर्राष्ट्रियको सुपर लिगबाट आएको टिम हो । दुई बलिया टिम, चिसो मौसम र पिचमा फरकपनले नेपाललाई ठुलो चुनौती छ । जसको प्रमाण स्कटल्यान्ड ‘ए’ विरुद्धको अभ्यास खेलमा देखिइसकेको छ । स्कटल्यान्ड ‘ए’ सँग नेपाल १०२ रनले पराजित भएको थियो । सोही टिमसँगको दोस्रो अभ्यास खेल भने वर्षाले नतिजाविहीन बन्यो । यद्यपि पानी पार्नुअघि टस जिते पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा नौ विकेटको क्षतिमा २५३ रन बनाएको थियो । कप्तान रोहितसहित गुलसन झा र भीम सार्कीले अर्धशतक बनाउनुभएको थियो । सोही ब्याटिङ लय आगामी खेलमा कायम राख्न सकेमा मात्र नेपालको स्कटल्यान्ड भ्रमण फलदायी हुने छ ।
यद्यपि अन्तर्राष्ट्रिय क्रिकेटमा सफल हुन नेपालले हरेक वातावरण, हरेक मैदान, हरेक पिचमा खेल्ने खुबी देखाउनै पर्छ । यो ठुलो पक्ष भए पनि यसको बहाना बनाउन पटक्कै मिल्दैन । प्रतिकूल परिस्थितिमा पनि आफूलाई ढाल्न सक्ने टिम मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा सफल हुन्छ । स्कटल्यान्डको भ्रमणमा नेपाली क्रिकेटले यही अपेक्षामा पनि रहने छ ।