धनकुटा(हिले), जेठ ३० गते । प्रत्येक सुखदुखका कामकाजमा मासु र जाँडरक्सी जनजातिका लागि अनिवार्यनै हुन्छ अर्थात कुलमै चडाउनु पर्ने हुन्छ । तर धनकुटाको शहिदभूमि गाउँपालिकाको गुर्धम, रातमाटे, सुन्तलाबारी, चिच्चे, पोखरे, अखुवाटार, साम्वुगाउँ र सिरवानी गाउँका जनजातिहरु यो परम्परा भन्दा टाडा छन् । उहाँहरु गाउँनै जुटेर माछामासु नखाने र पशुपंछि समेत नपाल्ने गरेको पाइएको छ ।
साम्बु गाँउका ७२ बर्षीय भरतलाल राईको घरमा राँगा, बंगुर, हाँस, कुखुरा, परेवा र बाख्रा जस्ता मासुका लागि प्रयोग हुने पंक्षि र पशुबस्तुको खोर छैनन् । चाडपर्ब होस् वा भोज भतेमा होस् भान्छामा कहिले पनि मासुका परिकार बन्दैनन् । हरेक महिनाको शुक्लपक्षमा परिवारलेनै पूर्णब्रत लिन्छन् । राई समुदायका उहाँहरुले साकाहारि भोजन र सात्विक जीवनशैली अंगालेका छन् । “हामि खान त खाँदै खादैनौ, पाल्न समेत पाल्दैनौ किनकी प्राणि प्रेम र अहिंसा हाम्रो मुल मन्त्र हो” राई भन्नु हुन्छ ।
सुन्दा अचम्म लाग्ने भरतलाल राईको जस्तै केहि यस्ता बस्ती पनि छन् जहा माछामासु खान त परको कुरा मासुका लागि प्रयोगहुने पंक्षि र जनावरनै पाल्दैनन् । शहिदभूमिका १५० परिवार भन्दा बढीले यो परम्परा अगाल्दै आएको पाइन्छ ।
उनिहरुको घरैपिच्छे एउटा तुलसीको मठसँगै बाँसका लिङ्गामा सत्यनाम लेखिएको सेता रङ्गका ध्वाजा राखिएको हुन्छ । यो उनिहरुको पहिचान हो । उहाँहरु माछामासु मात्रै होइन, जाँडरक्सी र सुर्तीचुरोट पनि सेवन गर्दैनन् । बुढापाका देखि यूवा पुस्तामा पनि पशुवली र प्राणिहत्या पाप हो भन्ने विश्वास उहाँहरुमा छ । “अहिले पशुबलिको बिरोधमा कुरा उठ्ने गरेको छ तर हामि त पहिले देखिनै यसको विपक्षी हौ पशुबलि राम्रो हैन” स्थानीय यमकुमार राई भन्नुहुन्छ ।
जीविकोपार्जनको माध्यम कृषिनै भएपनि यी गाउँका स्थानीयहरु बंगुर, हाँस, कुखुरा, परेवा बाख्रा पाल्दैनन् । दुधका लागि गाइभैंसि पाले पनि राँगा पाल्न मनही गरेको छ । पुजाआजा र बैद्धिक कार्यमा फूल र नरिवल चढाउँछन् । भोजभतेरमा पनि मासु र मादक पदार्थ चल्दैन । हाम्रो आफ्नै परम्परा छ । “हामी भोजभतेरमा पनि मासु र मादक पदार्थ चलाउदैनौ र चलाएको ठाँउमा गएर खाँदैनौ पनि” सहिदभुमी गाँउपालिका वडानम्बर २ साम्बु गाँउका रुपलाल राइ भन्नुहुन्छ । यो चलन नयाँ भने हैन करिब एक सताब्दी अघिवाट यो प्रचलन यहाँ चलेको उहाँ बताउनुहुन्छ ।