• १५ जेठ २०८२, बिहिबार

ज्येष्ठ नागरिकलाई रैथाने मनोरञ्जन

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ १४ गते । ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिन र जिल्लाका रैथाने मनोरञ्जनका विधिको संरक्षण गर्न जिल्ला कार्यक्रम आयोजना गरिएको छ । साथीसङ्गी र दौँतरीबिच भेटघाट हुन कठिन हुने उमेरमा रहनुभएका साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला पारेर स्थानीय तहमा हुने कला, मनोरञ्जन प्रदर्शन गरिएको ज्येष्ठ नागरिक सङ्घ हुम्लाका अध्यक्ष अदानसिंह रावतले बताउनुभयो । 

कार्यक्रमले एक दिन भए पनि मनोरञ्जन प्रदान गरेको सहभागी ज्येष्ठ नागरिक तुलसिंह रोकायाले बताउनुभयो । ढल्किँदो उमेरमा ज्येष्ठ नागरिकलाई मनोरञ्जन प्रदान गर्न कार्यक्रम सहयोगी भएको उहाँको भनाइ थियो । रैथाने मनोरञ्जन गर्ने क्रममा देउडा गाउने, मागल गाउने, चार्ची गाउने, भारी गीत गाउने, चुटकिला गाउने, बिहेमा गाउने गीत, ढाल तरबार नाच प्रस्तुत गरिएको थियो । महिला र पुरुषले फरक फरक रूपमा कला प्रस्तुत गरेका थिए । 

जिल्लाको सामाजिक विकास कार्यालयका प्रमुख हर्क बस्नेतले ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न र मनोरञ्जन दिन कार्यक्रम गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमबाट पुरानो पुस्ताबाट नयाँ पुस्तालाई रैथाने कला पुस्तान्तरण गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा ११७ जना ज्येष्ठ नागरिकको उपस्थिति थियो ।