• ११ पुस २०८२, शुक्रबार

बजेट अभावले रोकियो नरैनापुर अस्पताल निर्माण कार्य

blog

बजेट अभावले अन्तिम चरणको निर्माण रोकिएको नरैनापुर अस्पताल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस ११ गते ।
बाँके जिल्लाको अन्य क्षेत्रको तुलनामा स्वास्थ्य सेवाको सबैभन्दा कम पहुँच भएको नरैनापुर गाउँपालिकामा स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले निर्माण भइरहेको १५ शय्याको पालिकास्तरीय अस्पताल भवन निर्माण कार्य बजेट अभावले रोकिएको छ ।

नरैनापुर क्षेत्रका स्थानीय बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको अस्पताल भवन निर्माण बजेट अभावका कारण बिचमै रोकिएको हो ।

नरैनापुर गाउँपालिका–४ मा १५ शय्याको पालिकास्तरीय अस्पताल सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको अस्पताल भवन निर्माण ९० प्रतिशत पूरा भइसकेको छ । तर सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा अन्तिम चरणको काम रोकिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार करिब १६ करोड ९७ लाख ५१ हजार रुपियाँ लागतमा अस्पताल भवन निर्माण सुरु गरिएको हो । उहाँले भन्नुभयो, “भवन लगभग तयार भइसकेको छ, तर बजेट नआउँदा काम रोकिएको छ ।’’ बाँकी बजेट तत्काल निकासा गर्न उहाँले सम्बन्धित मन्त्रालयसँग आग्रह पनि गर्नुभएको छ ।

गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतले अस्पताल भवनको भौतिक तथा वित्तीय प्रगति ९० प्रतिशत पुगेको जानकारी दिँदै सङ्घीय सरकारबाट निकासा नआएकाले निर्माण कम्पनीलाई अन्तिम किस्ताको भुक्तानी गर्न नसकिएको हुँदा निर्माण कार्य ठप्प भएको बताउनुभयो ।

अस्पताल भवन निर्माणका लागि नरैनापुर गाउँपालिका र हनुमान कन्स्ट्रक्सनबिच २०७९ चैत १० गते ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०८० असोज १० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तर सम्झौताको समयअवधि सकिएको दुई वर्ष बिते पनि रकम नपाउँदा अझै काम रोकिएको निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज रोजन थापाले बताउनुभयो । उहाँले अन्तिम किस्ताको रकम सुनिश्चित भए एक महिनाभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सकिने बताउनुभयो ।

स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुरका नागरिकका लागि यो अस्पताल ठुलो आशा र भरोसाको केन्द्र रहेको गाउँपालिकाले जनाएको छ । बजेट अभावका कारण ९० प्रतिशत निर्माण पूरा भएको अस्पताल भवन अलपत्र पर्दा स्थानीयवासी चिन्तित बनेका छन् ।