सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), पुस ११ गते । धनकुटा नगरपालिका –९ घर रहेका मुखको क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी सङ्घ धनकुटाले आर्थिक सहयोग गरेको छ ।
सङ्घले उपचारार्थ रहेका क्यान्सर पीडित श्रेष्ठलाई ६५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । निर्माण व्यवसायी सङ्घले ३० हजार ५ सय रुपियाँ र व्यवसायीबाट ३३ हजार ५ सय रुपियाँ गरी जम्मा ६४ हजार रुपियाँ सहयोग गरेको छ ।
सङ्घ धनकुटाका सदस्यसमेत रहेका अनु एण्ड अभि कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर विजय श्रेष्ठका छोराको मुखको क्यान्सर भएको थियो । क्यन्सर पीडित रहेका बालक हाल भारतको दिल्लीस्थित अस्पतालमा उपचार गराइरहनुभएको छ । उनको उपचार प्रक्रिया लामो तथा खर्चिलो भएकाले सहयोगको आवश्यकता देखिएपछि सङ्घले मानवीय उत्तरदायित्वलाई ध्यानमा राख्दै सहयोग जुटाएको सङ्घका अध्यक्ष प्रकाश थुलुङले जानकारी दिनुभयो ।
सङ्घका सदस्यका छोरालाई उपचारका लागि आर्थिक सहयोग र सहयोगको अपिल गरेको उहाँले बताउनुभयो । थोरै रकम भए पनि उपचारमा केही सहयोग होस् भन्ने उद्देश्यले उक्त सहयोग रकम विरामीको आफन्तलाई हस्तान्तरण गरिएको थुलुङको भनाइ छ ।
त्यस्तै, निर्माण व्यवसायी सङ्घ धनकुटाका सल्लाहकार हर्कबहादुर राई केही दिनअघि बाटोमा लडेर गम्भीर घाइते भई हाल उपचाररत रहनुभएकाले उहाँको उपचारको लागि आर्थिक सङ्कलनको काम भइरहेको अध्यक्ष थुलुङले बताउनुभयो । सहयोग सङ्कलनपश्चात् अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरिने भएको छ ।
मानवीय सहयोगमा हातेमालो गर्न इच्छुक व्यक्ति तथा संस्थालाई निर्माण व्यवसायी सङ्घ धनकुटासँग सम्पर्क गर्न अनुरोध गर्दै सहयोगले बिरामीको उपचारमा राहत पुग्ने सङ्घले विश्वास लिएको छ ।