• ११ पुस २०८२, शुक्रबार

एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता

blog

एमाले अध्यक्ष केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबिच भेटवार्ता ।

काठमाडाैं, पुस ११ गते । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले छुट्टै भेट गर्नुभएको हो ।  

सञ्चारमन्त्रीको सचिवालयका अनुसार यो भेट निर्धारित कार्यक्रमअनुसार भएको हो । यसअघि खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेट्नुभएको थियो । शुक्रवार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेट्ने तालिका रहेको छ । 

भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ । सरकारले प्रमुख तीन दलका शिर्ष नेतासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिवद्धता जनाउने प्रयास गरेको छ । हाल ओलीमाथि जेन–जी आन्दोलनको छानबिन आयोगले लगाएको काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्धको विषय पनि छलफलमा उठेको छ । 

यसअघि सरकारको टोलीले एमालेको च्यासलस्थित केन्द्रिय कार्यालय निरीक्षण गर्दा पनि निर्वाचनमा सहभागिता र प्रतिबन्धमा लचकता अपनाउने विषयमा सकारात्मक संकेत दिएको थियो । एमालेले निर्वाचनमा सहभागी हुने वातावरण बनेमा भाग लिने प्रतिवद्धता जनाएको छ । सरकारले यो भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासको रूपमा लिएको जनाएको छ । यो भेटले तत्कालीन राजनीतिक तनाव कम गर्ने र निर्वाचन प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।