• ११ पुस २०८२, शुक्रबार

करिडोरमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

blog

वर्षायाममा रिडी—हर्मिचौर सडक खण्डको बडहरे खोला । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), पुस ११ गते ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता छ ।

कालीगण्डकी करिडोर गुल्मीको रिडी हर्मिचौर र हर्मिचौर बलेवा सडक खण्डमा पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएको सवारी चालक र धनिले गुनासो गर्दै आएका छन् ।

उक्त सडक हुँदै दैनिक बुटवल पुर्तिघाट आवतजावत गर्ने इभी सवारी चालक रामु पाण्डेले वर्षायाममा खोलामा पानीको बहाव बढ्दा र हिउँदमा यी खोलामा गेग्य्रानले गर्दा समस्या हुने गरेको बताउनुभयो । इभी गाडी होचो हुने भएकाले यसलाई बचाएर चलाउन समस्या हुनुका साथै ज्यान नै जोखिममा पर्ने गरेको उहाँको भनाइ छ ।

रिडी—हर्मिचौर सडक खण्डको बड्हरे खोला र दिहिङ खोलामा बढी समस्या हुने र गाडी नै फस्ने भएकाले रातको समयमा झन् जोखिम रहेको सवारी चालकहरुले बताउँदै आएका छन् ।

यता कालीगण्डकी करिडोर, गैँडाकोट—राम्दी मालढुङ्गा सडक योजना कार्यालय पाल्पाका प्रमुख इन्जिनियर शिव दाहालले उक्त स्थानका लागि पुलको डिजाइन भइरहेको बताउनुभयो । यी स्थानका साथै गुल्मी—बाग्लुङ सडक खण्डका लागि करिब एक दर्जन साना ठुला पुलहरु बनाउनुपर्ने भएकाले पुलको डिजाइन अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

पुलको डिजाइन पश्चात् जतिसक्दो छिटो बहुवर्षे ठेक्का लगाई कार्यान्वयनको चरणमा जाने गरी कार्यालय लागेको उहाँको दाबी छ । बडहरे खोलामा पुल नहुँदा स्थानीयहरुले वर्षायामको समयमा खोला तर्न काठको फडके पुल निर्माण गरेर आवतजावत गर्ने गरेका छन् ।