• ११ असोज २०८१, शुक्रबार

आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिकाको खेल बराबर

blog

अमेरिकालाई बराबरीमा रोकेपछि नेपाली टोली । तस्बिर : क्यान

काठमाडौं, जेठ २९ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा आइतबार बिहान सम्पन्न त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको हो ।

नेपालले दिएको २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनायो । अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको सतकीय इनिङ्स खेल्नुभयो । कप्तान मोनान्क पटेलले ८५,  आरोन जोन्सले २६, सुशान्त मोदानीले १७ र राहुल जरिवालाले १० रन जोड्नुभएको थियो । 


बलिङमा नेपालका आदिल आलमले दुई विकेट लिनुभयो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँदा आदिलले पाँच रन खर्चिदै खेललाई रोमाञ्चक बराबरीमा सक्नुभएको थियो । कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थियो । नेपालका लागि उपकप्तान रोहित पौडेल, आसिफ शेख र देव खनालले अर्धसतकीय इनिङ्स खेल्नुभयो । रोहितले ६२, आसिफले ६१ र देवले ५४ रन जोड्नुभयो । 


आदिल आलमले ३६, कुशल भुर्तेल १९ र कप्तान सन्दीपले १० रन बनाउनुभयो । आरिफ शेखले आठ, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीएक एक आउट हुनुभयो । करण केसी सुन्य रनमा आउट हुँदा सुशन भारी एक रनमा अविजित रहनुभयो । बलिङमा अमेरिकाका रुष्टि थिरनले चार विकेट लिनुभयो । अलि खान र सौरभ नेत्रभाल्करले दुई दुई विकेट झार्नुभयो ।


नेपालका आदिल आलम प्लेयर अफ दी म्याच हुनुभयो । बराबरीसँगै नेपाल र अमेरिकाले एक एक अंक बाँडेका छन् ।  लिगमा १४ खेलबाट १३ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । २२ खेलबाट २१ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।

यस सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिकाले पहिलो खेलमा ओमानलाई हराएको थियो । नेपालले सिरिजको तेस्रो खेल मंगलबार ओमानविरुद्ध र अन्तिम खेल बुधबार अमेरिकाविरुद्ध खेल्नेछ ।