गोरखापत्र थालनी गरेका राणा प्रधानमन्त्री देवशमशेरले भाषा पाठशाला खोले । पाठ्यपुस्तक तयार गर्न लगाए । पाठ्यपुस्तक र स्लेट निःशुल्कमा वितरण गरिए । उपत्यकाभित्र कन्या पाठशाला स्थापना गर्न लगाए । देशभरिबाट विद्वान्लाई आमन्त्रण गरी आयोजना गरिएको शैक्षिक सम्मेलनले एक वर्षभित्र भाषा पाठशालाको सङ्ख्या दुई सय पु-याउने प्रतिबद्धता व्यक्त ग-यो । नेपाली विद्यार्थीलाई विदेश पठाउने प्रयास पूरा नहुँदै उनी धनकुटा लघारिनु प-यो ।
कलकत्ता विश्वविद्यालयबाट इन्ट्रान्स उत्तीर्ण प्रधानमन्त्री चन्द्रशमशेरले १९५८ साल भदौ २७ र असोज ११ गते भाषा पाठशाला सबै खारेज गरिदिए (राणाकालीन शिक्षा) । बद्नामबाट बच्न केही भाषा पाठशालालाई ब्युँताइदिए । यही बेला स्वामी विवेकानन्द अमेरिकाको सिकागोबाट जापान हुँदै भारत फर्किए । उनीसँग स्वामी पूरानन्द गिरी पनि थिए । स्वामी पूरानन्दसँग देवशमशेरको चिनजान थियो । देवशमशेरले नेपाली विद्यार्थीलाई इलम सिक्न बेलायत पठाउन चाहन्थे तर स्वामी पूरानन्दको आग्रहमा जापान पठाउन उनी तयार भए । यसका लागि पत्राचार थालियो । चन्द्रशमशेर प्रधानमन्त्री भएका बखत ती विद्यार्थी जापान गए । २२ वर्षका जङ्गनरसिंह राणा, १९ वर्षका भक्तबहादुर बस्न्यात, २० वर्षका देवनरसिंह राणा, २० वर्षका बालनरसिंह रायमाझी, १८ वर्षका दीपनरसिंह राणा, २२ वर्षका हेमबहादुर सिंह, २५ वर्षका विचारमान सिंह र २७ वर्षका रुद्रलाल सिंह छनोटमा परे (राष्ट्रिय अभिलेखालय) । जनरल भैरवनरसिंहका छोराहरू जङ्गनरसिंह, देवनरसिंह र दीपनरसिंह थिए । भक्तबहादुरका पिता कर्णेल (इमानसिंह), बालनरसिंहका पिता मेजर क्याप्टेन (दानबहादुर) थिए । गम्भीर सिंहका छोरा हेमबहादुर, राइटर अकलमानका छोरा विचारमान र पृथीलालका छोरा रुद्रलाल थिए । हेमबहादुर, विचारमान र रुद्रलाल नेवार समुदायका थिए भने बाँकी क्षेत्री थिए ।
जङ्गनरसिंह र भक्तबहादुरलाई हतियार प्रविधि, देवनरसिंह र बालनरसिंहलाई खनिज प्रविधि, दीपनरसिंहलाई कृषि विषय अध्ययन गर्न तथा हेमबहादुर, विचारमान र रुद्रलाललाई विभिन्न छमध्ये निजको क्षमताअनुसार कुनै दुई विषय अध्ययन गर्न पठाइएको थियो । ती छ विषयमा धातुको काम, पेन्सिल उत्पादन, सलाई उत्पादन, साबुन उत्पादन, रेसम खेती र मेकानिकल इन्जिनियरिङ थिए । जापान पुगेपछि हेमबहादुरले मेकानिकल इन्जिनियरिङ, रुद्रलालले व्यावहारिक रसायनशास्त्र र विचारमानले रेसम खेती विषय अध्ययन गरे । विचारमानलाई सेरामिक्स र लेकरभेसका लागि भनिए पनि पछि विषय परिवर्तन गरी रेसम खेतीको अध्ययनमा भर्ना भए । जापान रेजिडेन्सीमा ‘यो यो लड्कालाई यो यो इलम पढाउनाको मनसुवा छ उन्का ल्याकतले कतिसम्म पढ्नसक्ने ठहर्छ उसै माफिकको बन्दोबस्त गरी स्कुल कालेजमा भर्ना गरी दिनू’ भनेर बन्दोबस्त गरियो (राष्ट्रिय अभिलेखालय) ।
विद्यार्थीलाई जापान पठाउने विषयमा भारदारी सभामा छलफल भएको पनि थियो । सभाले पढाउन अनुमति दिनुका साथै फर्किएपछि आफ्नै जातमा रहने पनि निर्णय गरिदियो । त्यसबारेमा जारी गरिएको रुक्का–
आगे मद्राज कुमार कुमारात्म श्री कपतान जङ्गनरसिंह राणा बहादुर के यथोचित उप्रान्त देश देशावरमा गै सिकी आयाका इलम जे गरी आफ्ना मुलुक र सर्कारको धेरै तरहको फाइदा हुने सबै कुराबाट देखिनाले हाल यस मुलुकका निमित्त आवश्यक भयाको इलमहरू चीनको नजिकमा रह्याको जापान मुलुकमा वेस हिसाबसँग सिकाउने पाठशालाहरू रहेको हुनाले समुद्र नाघी जानुपर्ने सो ठाउँमा हाम्रा यहाँका विद्यार्थीहरूलाई यस देशलाई चाहियाको इलम हासिल गर्न पठाउनामा केही वाधा छ छैन भनी भाइभारदार गुरुपुरोहित अफिसर राखी सोधनी गर्दा सर्कारको फाइदाको काममा श्री ३ महाराजका हुकुमले पठाइ बक्स्यामा ताहा गै इलम सिकी आउनालाई केही कुराको वाधा छैन हाम्रो धर्मशास्त्रमा पनि केही वाधा पर्न जाँदैन भन्ने सबै भारदार गुरुपुरोहित अफिसरहरूको एक राय भै सो कुरामा सही छाप गरी दियेको हुनाले सो मुलुकमा गै इलम हासिल गरी आउनालाई सर्कारका तर्फबाट खर्च समेत दिई सफर गर्ने जहाजमा बेग्लै अरूले छुनछान गर्न नपाउने गरी पकाउने ठाउँ र बम्बैबाट जो चाहिने शुद्ध पानी भराइ अछुती जातले छुन नदिने बन्दोबस्त गरी तिमीलाई पठाइ बक्सेको सो जापान मुलुकमा गै भरसक जो सकेको इलम हासिल गरी आउनु मुलुक र सर्कारका निमित्तको काममा सर्कारबाट खटी गयाको हुनाले तिम्रो गरिमा नै छ बौद्ध धर्मको चीनै सरहको मुलुक हिन्दुस्थान नै को द्दीप हुनाले र अघिअघि जहाज चढी बर्मा चीन गयाका मानिसहरूले पनि थाहा पाइ आयाको हुनाले पनि आफ्ना भताहाहरूसँग जातभातमा सरोबर रहनेछौ । इति सम्वत १९५८ साल चैत सुदी २ रोज (राष्ट्रिय अभिलेखालय)
भारदारी सभाले विद्यार्थीहरू इलम सिकेर फर्किएपछि जात नगुम्ने निर्णय गरेको थियो । तर जापान पुगेपछि स्वामी पूरानन्दले कुखुरा र जापानीहरूले पकाएको खाना खाएको थाहा पाएपछि नेपाली विद्यार्थीहरूले चन्द्रशमशेरलाई पत्रमार्पmत गुनासो गर्दै आफूहरूले यी कुरा नखान अनुरोध गरेको तर निजले जहाज हिँडेपछि जात गुमी सक्यो, नेपाल फर्किएपछि जात शुद्ध भइहाल्छ बरु तिमीहरूले पनि खान सक्छौ, केही हानि छैन भनी जवाफ दिएको कुरा लेखेका थिए (शताब्दी पूर्व जापानमा अध्ययन गर्ने अग्रज नेपाली विद्यार्थीहरू) ।
निजका हिफाजतमा रही निजले अह्राया सिकायाबमोजिम गरी इलम हासिल गर्ने काम गर्नु भनेको नमानी बेहिसाब गरी निजलाई टेढेनौ भन्या तिमीहरूलाई हपकी दपकी पिटपाट समेत गरी तह लगाउने अख्तियार निज स्वामीलाई बक्स्याको छ सो बुझी काम गर्नू ।
विद्यार्थीका साथमा आठजना भान्से र तीनजना कामदार पठाइएको थियो । विद्यार्थीका लागि जापानी भाषा सिकाउन शिक्षक र हेरविचार गर्न असल डाक्टरको बन्दोबस्त गरियो । बम्बैबाट सुरु हुने पानी जहाजको यात्रामा पानी राख्ने, सुत्ने, बस्ने, पकाउने, खाने र अरू माल राख्ने स्थानको बन्दोबस्त, जापानी मुद्रा सटहीको बन्दोबस्त, बैङ्क चेकको बन्दोबस्त, दोभाषेको बन्दोबस्त, बैङ्कसँग लड्काहरूको खर्चलाई चाहिने रकम महिना महिनामा पठाउने बन्दोबस्त, बैङ्कले लड्काका हातमा पर्ने गरी रकम उपलब्ध गराउने बन्दोबस्त आदिका लागि कुक कम्पनीसँग पत्राचार गरियो । ‘रक्सौलदेखि टोकियोसम्मको सबै विद्यार्थीहरू र स्वामी पूर्णानन्द गिरी र साथका नोकरहरूलाई समेत गरी रेलभाडा खाना खर्च जहाज भाडा घर भाडालाई जम्मा चाहिने अन्दाजी कं.रु. ७७०० मा जहाज भाडा निमित्त टामस कुकलाई पेस्की गयाको १००० कट्टी गरी कं.रु. ६७०० तिमीहरूलाई दि बक्सेको छ मुनासिव माफिक जो चाहिने खर्च गर्नु’ भनी खर्चको फाँटवारी तयार गरी जिम्मा लगाइयो । वर्ष दिनलाई आवश्यक पर्ने १२ हजार ८४० कम्पनी रुपियाँ उपलब्ध गराउन वीरगञ्ज माललाई सनद गरिएको थियो । सो रकम हन्डी गराइ लिनू र ब्याज आउने जापानको बैङ्कमा जम्मा गराइ महिना महिनामा चाहिने तलब झिक्नू भन्ने निर्देशन दिइएको थियो ।
विद्यार्थीलाई सेकेन्ड दर्जाको र कामदार तथा भान्सेका लागि तेस्रो दर्जाको रेल टिकटको व्यवस्था गरिएको थियो । सबैका लागि रक्सौलदेखि बम्बैसम्मको रेल भाडा ७२६ कम्पनी रुपियाँ र चार दिनको खाना खर्च दुई सय कम्पनी रुपियाँ उपलब्ध गराइएको थियो । उनीहरूलाई प्रतिव्यक्ति तीन मन सामानका लागि प्रतिमन नौ कम्पनी रुपियाँका दरले रकम उपलब्ध गराइएको थियो । बम्बैमा १० दिन बस्नुपथ्र्याे र त्यहाँ बस्दाको खाना खर्च १९० कम्पनी रुपियाँ उपलब्ध गराइएको थियो । बम्बैबाट जापान नपुग्दासम्म ३० दिनका लागि पानी खर्च, पानी भराइ खर्च, जहाजमा नपाइने खाने माल खरिद खर्च आदिका लागि पनि आवश्यक रकम उपलब्ध गराइएको थियो । जहाज भाडा तीन हजार ५८१ कम्पनी रुपियाँ उपलब्ध गराइयो । जापान पुगेपछि घरभाडा कलेजको फिस किताब खरिद सवारी खर्च खाना खर्चसमेतको नौ हजार ७२० कम्पनी रुपियाँ दिइएको थियो । उनीहरूको मासिक शुल्क ६० का दरले वार्षिक पाँच हजार ७६० कम्पनी रुपियाँ उपलब्ध गराइएको थियो । विद्यार्थी, कामदार र भान्सेलाई एक वर्षका लागि चाहिने कपडा यहीबाट बन्दोबस्त गरी साथमा पठाइएको थियो ।
विद्यार्थीलाई अनुशासनमा बाँधिएको थियो । गर्न हुने र नहुने कुरा विद्यार्थीलाई लिखित रूपमा अह्रोट गरिएको थियो । खबरदारी र हेरचाह निमित्त स्वामी पूर्णानन्द गिरीलाई खटाइ पठाइएको बारेमा लेखिएको थियो– “निजका हिफाजतमा रही निजले अह्राया सिकाया बमोजिम गरी इलम हासिल गर्ने काम गर्नु भनेको नमानी बेहिसाब गरी निजलाई टेढेनौ भन्या तिमीहरूलाई हपकी दपकी पिटपाट समेत गरी तह लगाउने अख्तियार निज स्वामीलाई बक्स्याको छ सो बुझी काम गर्नू ।” ती विद्यार्थीलाई हेरचाह गर्न गभरमेन्ट इन्डियाबाट टोकियोस्थित ब्रिटिस मिनिस्टरलाई लेखिपठाइएको थियो । ती ब्रिटिस मिनिस्टर साहेब बहादुरसँग उनको ठूलो वहदा माफिकको मान मर्यादा देखाइ व्यवहार गर्नू भनी अह्राइएको थियो (राष्ट्रिय अभिलेखालय) । विद्यार्थीलाई टोकियो पुगेपछि मौसुफ ब्रिटिस मिनिस्टर साहेब बहादुरलाई सलाम गर्न जानू भन्दै निर्देशन दिइएको थियो– “...हामी यहा टाढा पर्देसमा नौला छौं कौने कुरा केही परी आयो भन्या तपाइलाई तकलिफ दिन आउने छौं तेस्तामा मेहरवानीमा हाम्रो भरोसा रहनेछ भन्ने बेहोराको कुरा गर्नु ।...टाढा परदेशमा रहनु पर्ने हुनाले तेस ठाउमा कसैसँग झगडा तगडा नगर्नु कदाचित तेसो परी आयो र केही मद्दत चाहिने भयो भन्या मौसुफ ब्रिटिस मिनिस्टर साहेब बहादुरसँग हाजिर भै सबै बेहोरा जाहेर गरी उनैले भने बमोजिम गर्नु ।”
विद्यार्थीलाई स्कुल कलेजमा भर्ती हुनलाई चाहिने ‘सर्टिफिकेट आफ आइडेन्टिटी’ उपलब्ध गराइएको थियो । त्यसमा आवेदकको नाम, पिताको नाम र जात, ठेगाना, उमेर, राष्ट्रियता, पिता वा संरक्षकको सामाजिक तथा रोजगारीको अवस्था, भारतबाट प्रस्थान गरेको अनुमानित मिति र जापान जानुको उद्देश्यका बारेमा उल्लेख गरिएको थियो । विद्यार्थीहरू टोकियोको विभिन्न स्थानमा घर भाडामा लिएर बसे । प्रतिमहिना १० देखि ३० येनसम्म तिरेका थिए । घरधनीलाई धरौटीवापत ५० देखि एक सय येन बुझाए तर दीपनरसिंह ग्रामीण क्षेत्रमा बस्नु परेकाले धरौटी जम्मा गर्नु परेन (शताब्दी पूर्व जापानमा अध्ययन गर्ने अग्रज नेपाली विद्यार्थीहरू) ।
तीन वर्षपछि उनीहरू अध्ययन पूरा गरी स्वदेश फर्किए । साथमा नीललहर, हलुवावेद, ठूलो कटुस र गोदावरी फूलका बिउ ल्याएका थिए । जङ्गनरसिंह, भक्तबहादुर र हेमबहादुरले हतियार कारखानामा जागिर पाए । दीपनरसिंहले सप्तरीमा सिँचाइ कुलो चन्द्रनहर बनाउने जिम्मा पाए । बालनरसिंहलाई बागलुङको तामाखानीका हाकिम बनाएर पठाइयो । बिरामी भएकाले देवनरसिंहको छिटै निधन भयो । रुद्रलाल र विचारमानले के काम पाए भन्ने थाहा हुन सकेको छैन (शताब्दी पूर्व जापानमा अध्ययन गर्ने अग्रज नेपाली विद्यार्थीहरू) । राजाको बैठकमा करेन्ट लगाइदिएर रोलवाला राणालाई मार्ने योजनाको आरोपमा जङ्गनरसिंहलाई धपाएर डोटी पठाइयो (त्यस बखतको नेपाल) । सन् १९१६ मा पद्मसुन्दर मल्लले व्यक्तिगत प्रयासमा जापान पुगेर विद्युत् इन्जियिनरिङ विषयमा अध्ययन गरेर स्वदेश फर्किए तर सरकारसँग अनुमति नलिई गएको भनी निर्वासनमा पठाइयो र उनले दार्जिलिङको विद्युतगृहमा काम गरे (शताब्दी पूर्व जापानमा अध्ययन गर्ने अग्रज नेपाली विद्यार्थीहरू) । जुद्धशमशेरले केही विद्यार्थीलाई जापान पठाउने प्रयास गरे पनि दोस्रो विश्वयुद्धले सो सम्भव भएन ।
विद्यार्थीका साथमा आठजना भान्से र तीनजना कामदार पठाइएको थियो । जापानी भाषा सिकाउन शिक्षक र हेरविचार गर्न असल डाक्टरको पनि बन्दोबस्त गरियो ।
नेपालले विद्यार्थीलाई जापान पठाएकै बखत जापानले पनि आफ्ना विद्यार्थीलाई विदेश पठाउन लागेको कुरा १९५८ साल कात्तिक सुदी १४ सोमबारको अङ्कमा गोरखापत्रले समाचार छापेको थियो– आजकाल जापान गवर्नम्यन्टले आफ्ना राज्यका ८४ विद्यार्थीहरूलाई खेती अरू व्यापारसम्बन्धी विद्या सिकउनाका निमित्त विदेशमा पठाउन लागेका छन् । उनमा २५ विद्यार्थी अमेरिकामा एक म्याक्सिकामा १० फ्रान्समा नौ जर्मनीमा तीन इङ्ल्यान्डमा एक रुसमा तीन बेल्जियममा एक अस्ट्रिलियामा बाँकी ३१ विद्यार्थीमध्ये दुई अस्ट्रेलियामा २१ चीनमा एक सिङ्गापरमा दुई फिलिपैन्समा दुई हांगकांगमा दुई ल्यडी वास्टेकनमा । जौन देशको गवर्नम्यन्ट आफ्ना प्रजालाई धन दौलत खर्च गरी अर्का ठाममा इलम सिकाउन पठाउछ उस मुलुकको तरक्की किन नहोस् ।