• १८ जेठ २०८२, आइतबार

हाम्रो उद्देश्य राम्रो ऐन बनाउने होः मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे

काठमाडौँ, जेठ ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभएको छ ।

राष्ट्रियसभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो । जसले पर्यटकीय क्षेत्रको प्रवर्धन र दिगो विकास गर्ने, पर्यटकलाई सहज बनाउने र मुलुकको आर्थिक स्थिति बलियो बनाउने गरी काम गर्नेछ ।’’

मन्त्री पाण्डेले पर्यटन ऐनलाई राम्रो बनाउनका लागि राष्ट्रिय सभाले महसुस गरेको उल्लेख गर्दै भन्नुभयो, “दफावार छलफलका माध्यमबाट विधेयकलाई थप समृद्ध बनाउने छौं । समितिमा लगेर छलफल गर्नेछौं । मन्त्रीको तर्फबाट कुनै पनि जडता नराखीकन विधेयकलाई सदृढ बनाउनका लागि संशोधन गर्न तयार छौं ।’’

यो विधेयक प्रणालीलाई बलियो बनाउने दायित्व बोध गरेर ल्याइएकोसमेत मन्त्री पाण्डेले बताउनुभयो । उहाँले थप्नुभयो, “विधेयकमाथि छलफल गर्दा हाम्रो प्रणालीलाई बलियो बनाउने दिशामा उन्मुख हुनुपर्नेछ । अर्को महत्त्वपूर्ण कुरा सुशासनको पाटो खड्कीएको छ । त्यसका लागि प्रभावकारी संरचना बनाउने र कार्यान्वयन गर्ने गरी विधेयकलाई सुदृढ बनाउने गरी काम गरौं भन्न चाहन्छु ।’’

पर्यटनमा निजी क्षेत्रलाई समेट्नका लागि निजी क्षेत्र मैत्री व्यवस्था पनि मिलाउनुपर्नेसमेत मन्त्री पाण्डेले बताउनुभएको छ । उहाँले थप्नुभयो, “निजी क्षेत्रलाई मन खोलेर लगानी गर्नसक्ने वातावरण बनाउने र भरोसा दिलाउने काम हामीले गर्नुपर्नेछ । यसलाई कानुनको माध्यमबाट स्थापित गर्नेछौं । पर्यटनमैत्री वातावरण हामीले सिर्जना गर्नेछौं ।’’

मन्त्री पाण्डेले पर्यटकीय र सांस्कृतिक रुपमा सम्पन्न नेपाल दुनियाँभरको आस्थाको केन्द्रको रुपमा रहेको औंल्याउँदै थप्नुभयो, “हामीले दुनियाँभरका मानिसहरुलाई नेपाल निम्त्याउनु पर्नेछ । हाम्रा कला र सम्पदाहरु अद्वितिय छन् । भूकम्पले ढलेका पुरातात्विक सम्पदाहरुलाई पनि उठाएका छौं । हाम्रा ढलेका सम्पदाहरु त्यही स्वरुपमा र कौशलमा बनेको देख्दा देशमा अरनिकोहरु पनि अहिले पनि छन् भन्ने आभास भएको छ ।’’

“पर्यटन क्षेत्रलाई देशव्यापी बनाउनुपर्नछ, “मन्त्री पाण्डेले थप्नुभयो, “अहिले केही क्षेत्रमात्र पर्यटकीय क्षेत्र भएकोजस्तो भएको छ । हामीले थोरैमात्र हिमालहरुमा पर्वारोहणको स्थिति छ । यसपटक हामीले ५७ वटा हिमालहरु खुला गरेका छौं ।’’

नेपाल पर्वातारोहण संघलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरताका साथ छलफल गर्न आफू खुला रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले बताउनुभयो । त्यसैगरी अपाङ्गता भएका मानिसहरुका लागि पनि उपयोग हुने र अपाङ्गता भएका पर्यटकहरु पनि सहजरुपमा आवतजावत गर्नसक्ने संरचना निर्माण गर्नुपर्ने मन्त्री पाण्डेले बताउनुभयो ।

क्यासिनोलाई धेरै विवादित बनाउन नहुने उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “यसको नियमनमा हामीले ध्यान दिनुपर्नेछ । मकाउको जीडीपीको अधिकांश हिस्सा क्यासिनोले समेट्ने गरेका छौं । त्यसकारण क्यासिनो बन्द गर्नेभन्दा पनि नियमनमा ध्यान दिनुपर्नेछ । हामीले विधेयक निर्माणका सन्दर्भमा ध्यान दिन्छौं ।’’

मन्त्री पाण्डेले पुरातात्विक सम्पदा जोगाउँदै विकासका नयाँ बाटाहरुको खोजी गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “सन्तुलन कायम गर्नुपर्छ । नदी जोगाउने मात्रै कि उर्जा उत्पादन गर्ने कि जलयात्रा बढाउनेजस्ता कामहरुमा हामीले केन्द्रित हुन आवश्यक छ । पुरातत्व जोगिएन भने हाम्रो सभ्यता मर्दै जान्छ । पर्यटकहरुका लागि सजिलो बनाउने र हाम्रा मौलिकता पनि जोगाउने विषयमा ध्यान दिन आवश्यक छ ।’’