• १० पुस २०८२, बिहिबार

एक सय २० जना वृद्धवृद्धाको मोतीविन्दुको शल्यक्रिया

blog

बाह्रबिसे नगरपालिका–९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित नगर अस्पताल) मा मोतीविन्दुको शल्यक्रिया र उपचार पाएपछि हर्षित वृद्धवृद्धा । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, पुस १० गते ।
सिन्धुपाल्चोकको ग्रामीण भेगका एक सय २० जना वृद्धवृद्धाहरूको मोतीविन्दुको सफल शल्यक्रिया गरिएको छ । सुनकोसी इन्द्रावती समाज, सिन्धुपाल्चोकको संयोजनमा सञ्चालित चार दिने शिविरमा उनीहरूको दृष्टि फर्किएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जअन्तर्गत विपी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको प्राविधिक सहयोग शिविर आयोजना गरिएको इन्द्रावती समाजका अध्यक्ष भूपेन्द्र थापाले जानकारी दिनु भयो । 
बाह्रबिसे नगरपालिका–९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरबाट पाँच सय जनाको आँखा परीक्षण तथा उपचार गरिएको थापाले बताउनु भयो । ‘‘आँखाका विशेषज्ञ डा. प्रताप कार्कीसहित १५ जनाको टोलीले गाउँ–गाउँमै पुगेर पहिचान गरिएका बिरामीको उपचार गरेका थिए । मोतीविन्दुको शल्यक्रिया जटिल नभए पनि चेतना र पहुँचको अभावले धेरै बिरामी उपचारबाट वञ्चित हुने गरेका छन् । एक सय २० जनाले वर्षौपछि आँखामा ज्योती पाएका छन्,’’ उहाँले भन्नु भयो । 
बाह्रबिसे नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रबिसे, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे र शारदा माध्यमिक विद्यालय स्थानीय आयोजकका रूपमा रहेका थिए । बलेफी गाउँपालिका जलविरे माथिल्लो भेगका ७० वर्षीया योगमाया पौड्यालले सात वर्षपछि मोतीविन्दुको सफल शल्यक्रियापछि पाएको बताउनु भयो । ‘‘उमेरसँगै बढेको मोतीविन्दुको समस्याले उनी झण्डै दृष्टिविहीन जस्तै बने । आर्थिक अभाव र अस्पतालसम्म पुग्न नसक्दा वर्षौँ अन्धकारमै बाँच्न बाध्य भएको उहान्को भनाइ छ । ‘‘दुवै आँखा बन्दजस्तै थिए, सात वर्षपछि उज्यालो देखेँ,’’ उहाँले भन्नु भयो ।

यसैगरी, बाह्रबिसे नगरपालिका–२, कर्थलीका ७८ वर्षका कर्मा तामाङले पनि तीन वर्षपछि आँखा देख्ने सौभाग्य पाएको बताउनु भयो । लठ्ठीको सहारामा शिविर आएका वृद्धवृद्धा शल्यक्रियापछि हिँडेरै घर फर्किएका दृश्यले शिविरको प्रभाव झल्काएको थियो । पुस ६ देखि ९ गतेसम्म बाह्रबिसे नगरपालिका–९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित नगर अस्पताल) मा सञ्चालन गरिएको शिविरमा कमजोर आर्थिक अवस्था, भौगोलिक विकटता र सूचनाको अभावका कारण घरमै बसेका दृष्टिविहीनलाई लक्षित गर्दै गरिएको थियो ।