विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस १० गते । नेपालमा पूर्वानुमानमा आधारित पूर्व कार्यको सुदृढीकरण परियोजना अन्तर्गत सप्तरीको राजविराजमा पाँचदिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ को आयोजना गरिएको छ ।
जोखिम न्यूनीकरणका लागि विपद् आइपर्दा आपत्कालिन अवस्थामा बचाव, खोज, उद्धार तथा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान र सीप प्रदान गर्न तालिमको आयोजना गरिएको हो ।
आगो नियन्त्रण, पानीजन्य जोखिम, प्राथमिक उपचार, आवाजको माध्यमबाट खोज तथा उद्धार, आगो निभाउने तरिका, तथा विपद्को समयमा सूचना तथा सन्देश प्रवाह कसरी गर्ने भन्ने विषयमा सहभागीलाई अभ्यास सहितको प्रशिक्षण दिइने आसमान नेपालका सुचना अधिकृत अमन सरणले जानकारी दिनुभयो ।
तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ३, ५, ६ र ८ का २४ जना स्थानीयहरु सहभागी रहेको सो तालिममा समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तथा जोखिम न्युनीकरण सम्बन्धी आधारभूत ज्ञान सीप, विपद् पुर्व तयारी तथा प्रतिकार्यका आवश्यक जनशक्ति तयार गर्ने, आपत्कालीन अवस्थामा समुदाय र सरकारबीच समन्वय तथा सुरक्षा मजबुत गर्न, खोज तथा उद्दार आपत्कालीन स्वास्थ्य र आधारभूत प्राथमिक उपचार गर्ने तरीकाहरु सिकाइने कोर्स व्यवस्थापक रिमु चौधरीले जानकारी दिनुभयो ।
मरसिकोर तथा कोकाकोलाको आर्थिक सहयोगमा आसमान नेपालद्वारा आयोजित तालिममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको छ ।
आसमान नेपालका सूचना अधिकृत सरणका अनुसार समुदायलाई आत्मनिर्भर बनाउँदै विपद् व्यवस्थापनमा सक्षम जनशक्ति उत्पादन गर्नु तालिमको मुख्य उद्देश्य रहेको छ । समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी आधारभूत ज्ञान र सीपको विकास गर्नु, विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति तयार गर्नु, आपत्कालीन अवस्थामा समुदाय र सरकारी निकायबीच समन्वय तथा सुरक्षा प्रणाली मजबुत बनाउनु मुख्य उद्देश्य रहेको कोर्स व्यवस्थापक चौधरीले विश्वास व्यक्त गर्नुभयो ।
पुस १३ गते सम्म चल्ने उक्त तालिमबाट २४ जना स्थानीय विपद् सामना गर्न थप सक्षम र सचेत हुने तिलाठी कोइलाडीका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताउनुभयो ।