• २९ वैशाख २०८१, शनिबार

बोनसाई कला

blog

सरस्वती ढुङ्गाना 

सानो ठाउँमा पनि हरियाली कायम गर्न सकिने कला हो– बोनसाई । यो कलाको जन्म पन्ध्रौँ शताब्दीको अन्त्यतिर भएको हो । यसलाई सुरुवात गर्ने व्यक्ति प्रसिद्ध शिल्पकार लिओन बतिस्ता अलबर्ट हुन् । उनले बोटबिरुवालाई कुनै भाँडो वा गमलामा सजाउन सुरु गरेका थिए । अलबर्टले बोटबिरुवालाई कुनै भाँडो वा पत्थरको गमलामा सजाएर आफ्नो घरभित्र ठाउँठाउँमा हरियाली कायम गर्न सफल भएका थिए । यसरी घरभित्र सीमित स्थानमा तयार गरेको लघु वृक्षवाटिका नै बोनसाईका रूपमा लोकप्रिय बन्न पुग्यो । 

बोनसाई ‘बोन’ र ‘साई’ दुई शब्द मिलेर बनेको हो । 

‘बोन’ भन्नाले कचौरा र ‘साई’ भन्नाले वृक्षलाई बुझाउँछ । यसको सुरुवात जापानबाट भएको हो तर चिनियाँले पनि जापानीबाट प्रभावित भएर यस कलाको विकास गरेको देखिन्छ । यो कलालाई चिनियाँ वा जापानी वृक्ष सजावट कला पनि भनिन्छ । आज विश्वभरि नै बोनसाई प्रविधिको व्यापकता बढेको छ । घर, कार्यालय र महìवपूर्ण स्थलका कुनै पनि कुना, बरण्डा, छत वा खाली स्थानमा यस प्रविधिको प्रयोग गरी हरियाली बढाउने गरिएको छ । कतिले त बोनसाई गरेका फलफूलका बिरुवा समेत रोपेर समायानुकूल फलफूलको स्वादसमेत चाखेका छन् । बोनसाई कलाबाट सजाइएको घर देख्दा लाग्छ, प्रकृतिलाई कलात्मक रूपमा एउटा भाँडोमा सजाएर पनि त्यसको सौन्दर्य नियाल्न सकिन्छ । 

बोनसाई कुनै पनि बिरुवाको तयार गर्न सकिन्छ । बोनसाई तयार गर्दा त्यस बिरुवाको प्राकृतिक सौन्दर्यलाई सदैव ख्याल गर्नुपर्छ । बोनसाई बनाउनका लागि बीउ वा कलमीको प्रयोग गरिन्छ । हिजोआज यस प्रकारका बिरुवाको ठूलो माग छ । मुख्यतया बोनसाईलाई सीधा आकारमा तयार गरिन्छ । यस प्रकारको बोनसाईलाई 

‘चोक्कन’ भनिन्छ । अलिकति तेस्रो झुकेको बोनसाईलाई ‘शाकन’ भनिन्छ । नुहिएको बोनसाईलाई ‘केगाँई’ र झुम्म परेको बोनसाई कलालाई ‘काबुडाची’ भनिन्छ । यसैगरी वर्गाकार शैलीमा तयार गरिएको बोनसाईलाई ‘योस्पू’ भनिन्छ । कुनै पनि शैलीबाट तयार पारिएका बोनसाईले प्राकृतिक सौन्दर्य र वास्तविकतालाई जीवन्त रूपमा झल्काउँछ । 

हामी कुनै सपिङ मल, थियटर वा सभा हलमा पुग्दा विशाल वृक्षको पनि बोनसाई गरेको देख्दछौँ । ठूलाठूला वृक्षलाई कसरी ती गमलामा समायोजन गरियो त ? यो हामीलाई अचम्म लाग्न सक्छ तर यसमा अचम्म मान्नुपर्ने कुरा केही पनि छैन । बोनसाई तयार गर्दा वृक्षअनुसारको भाँडो वा गमला चयन गर्नुपर्छ । बोनसाईका लागि जल, माटो, खनिज वा हावाको आवश्यकता पनि पूरा गर्नुपर्छ । बोनसाई तयार गर्ने भाँडो पानी नजम्ने खालको हुनुपर्छ । 

बोनसाई तयार गर्न बोटबिरुवा काट्नका लागि कैँची, बिरुवा अड्याउने काठको लट्ठी, डोरी वा तारजस्ता सामानको आवश्यकता पर्छ । प्रायः बोनसाईका लागि प्रयोग हुने बिरुवाले स्वयं आफ्नो आकार निर्धारण गर्छ तर यसको कटाइद्वारा हाँगाको आकार प्रकारमा डोरीले बाँधेर पनि बदल्न सकिन्छ । आकार दिएपछि बोनसाई भाँडोमा उक्त बिरुवालाई कहाँ राख्ने हो, सोही ठाउँमा राख्नुपर्छ । बोनसाईको आकार एकै किसिमको राख्ने हो भने त्यसलाई बेलाबेलामा काट्नुपर्छ । काटछाँट गरेपछि बिरुवालाई मल दिनुपर्छ । धेरैभन्दा धेरै मल बिरुवालाई एकै पटक दिनु हँदैन । यसले बिरुवालाई हानि पु¥याउन पनि सक्छ ।

बोनसाई उष्ण हावापानीमा राम्रोसँग सप्रिन्छ । अन्य बिरुवालाई झैँ बोनसाई गरिएका बिरुवालाई पनि स्वच्छ हावा, सूर्यको किरण, पानीका आवश्यकता पर्छ । यसलाई जमिनको सतहमा राख्नु हुँदैन । जमिनको सतहमा राखियो भने गमला वा भाँडोका छिद्रबाट जरा जमिनमा पुग्छ । यदि बोनसाई गरिएका बिरुवाको जरा जमिनमा पुग्यो भने त्यो बोनसाईको स्वरूपबाट भिन्नै स्वरूपमा पुग्ने भएकाले बोनसाई गरिएका बोटलाई भुइँमा राख्न नमिल्ने भएर नै दुई–तीन फिट अग्लो काठ वा फलामको टेबुल वा पत्थरमाथि राख्ने गरिन्छ । यसको सिँचाइ गर्दा पनि विशेष ध्यान दिनु आवश्यक छ । जब माटोको माथिल्लो भाग सुक्खा हुन थाल्छ, तब बिहान वा साँझपख सूर्यको कम प्रकाश हुने समयमा बोनसाईलाई प्रशस्त पानी दिनुपर्छ । पानी दुई–तीन दिनसम्म पनि सुकेन वा हटेन भने बोनसाई भाँडोमा रहेको पानी हटाउनुपर्छ । नत्र बोनसाई बिरुवा मर्न सक्छ । राम्रो हेरविचार गरेर बोनसाईलाई आफ्नो घरको चोक, बरन्डा, कौसी वा कुनै पनि खाली ठाउँमा सजाएर भरपूर सौन्दर्य लिन सकिन्छ । 

हामीहरूले ठाउँको अभाव भयो भनेर चिन्ता लिनुपर्ने छैन । मानिसले कौसी खेती गरेर पनि परिवारको आवश्यकता पूरा गरेकै छन् । यसैले जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ हामीले घरको जुनसुकै खाली ठाउँलाई पनि बोनसाई गरिएका बिरुवा राखेर प्रयोग गर्न सक्छौँ । हरियाली बढाउन सक्छौँ ।