बाबुराम देवकोटा
सिन्धुलीमाढी, जेठ ४ गते । सिन्धुली जिल्लाको ग्रामीण क्षेत्र अन्तर्गतका भित्री सडकका खोलामा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पक्की पुल निर्माणपछि यातायात सञ्चालनमा सहजता आएको छ । पक्की पुलको अभावमा हिउँदमा मात्रै यातायात सञ्चालन हुने ग्रामीण सडकका खोलामा पुल बनेसँगै बाह्रै महिना यातायात सञ्चालन हुन थालेको हो । जिल्लाका विभिन्न खोलानालामा यस वर्ष मात्रै आठ वटा पक्की पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यसअघि डिपिआर भएका १६ वटा पक्की पुलमध्ये ठेक्का लागेर आठ वटा निर्माण भइरहेका र तीन वटा बहुवर्षीय ठेक्का प्रव्रिmयामा रहेका छन् । बाँकी पाँच वटा पक्की पुलको लागि स्रोत सुनिश्चित नहुँदा ठेक्का लाग्न नसकेको हो । कार्यालयका अनुसार बागमती प्रदेश सरकारकै आर्थिक सहयोगमा जिल्लाका भित्री सडकमा पर्ने विभिन्न खोला तथा नदीमा हालसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।
निर्माणाधीन पक्की पुलमा हरिहरपुरगढी गाउँपालिका–२ र ४ लाई जोड्ने मरिणखोला पुल, सुनकोशी गाउँपालिका–६ को आरुबोटे खोलापुल र कमलामाई नगरपालिका–४, कुमालफाँट ग्वाङखोला पुल रहेका छन् । यी पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य निर्माणाधीन पक्की पुलमा गोलन्जोर गाउँपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाउँपालिका–३ मा तामाजोरखोला पुल, घ्याङलेख गाउँपालिका–२ मा टाँडीखोला पुल, सुनकोशी गाउँपालिका–५ मा सातबिसे भोटेखोला पुल र कमलामाई नगरपालिका–२ मा चियाबारी– केबरे सडक अन्तर्गत ग्वाङखोला पुल छन् ।
बारा–घोक्सिला पुलको निर्माण अवधि डेढ वर्ष रहेको र बाँकी पुलको निर्माण अवधि एक वर्ष रहेको कार्यालयले जनाएको छ । त्यस्तै बहुवर्षीय ठेक्का प्रव्रिmयामा रहेका पुलमा दुधौली नगरपालिकास्थित ठाकुरखोला पुल, फिक्कल गाउँपालिकास्थित पौतीखोला पुल र कमलामाई नगरपालिका–१३ स्थित सुनखानी–मडाहा कमलाखोला पक्की पुल रहेको कार्यालय प्रमुख लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्रोत सुनिश्चित नभएका कारण हरिहरपुरगढी गाउँपालिकास्थित तिनकुना खोला पुल, कमलामाई नगरपालिका–८ स्थित पुरानो करकरे सिन्दुरेटार पुल, हरिहरपुरगढी गाउँपालिका–५, स्थित चारखोला पुल, फिक्कल गाउँपालिका–१ स्थित सिदाली खोला पुल र दुधौली नगरपालिका–५ स्थित रानीखोला पुल ठेक्का लाग्न नसकेको हो ।
यी पुलको गत वर्ष डिपिआर तयार भएको र यस वर्ष बजेट नआउँदा कार्यान्वयन नभएको कार्यालयका इन्जिनियर सरोज लुइटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रादेशिक सडक गुरुयोजनामा परेर स्वीकृत भएका पुललाई मात्र बजेट हाल्ने गरिएकाले ती पुल छुटेका हुन् ।”
निर्माण सम्पन्न भई सञ्चालनमा रहेका पक्की पुलमा कमलामाई नगरपालिका अन्तर्गत मधुटार ग्वाङखोला पुल, कारागार ग्वाङखोला पुल, कमला नदी भिमान पुल, लुङ्गेलीटार बौलाखोला पुल, गड्यौलीखोला पुल, हरिहरपुरगढी–७ मा क्यानखोला पुल, दुधौली नगरपालिकमा पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल, तीनपाट गाउँपालिकाको लङ्गुरखोला पुल, फिक्कल गाउँपालिकाको बाक्सुखोला पुल र सुनकोशी गाउँपालिकाको धोबीखोला पुल रहेका छन् ।
गोलन्जोर गाउँपालिकाको घोक्सिला खोलामा गत पुस महिनामा ७० मिटर लामो पुल धमाधम निर्माण भइरहेको छ । उक्त पुल निर्माणका लागि सिर्जना निर्माण सेवा सिन्धुलीले २०८१ जेठ १४ गते सम्झौता गरी २०८२ को मङ्सिर १३ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको निर्माण लागत नौ करोड ४५ लाख ३७ हजार १२४ रुपियाँ रहेको छ । पुल बनेपछि मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने यात्रुलाई समेत सहज हुने छ ।