• ३ असार २०८१, सोमबार

बूढीगङ्गाको चुनाव अझै अनिश्चित

blog

काठमाडौँ, जेठ २७ गते । बाजुराको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान अझै निश्चित भएको छैन । गत वैशाख ३० गते भएको मतदानमा धाँधली हुँदा निर्वाचन आयोगको जेठ १२ गतेको पदाधिकारी बैठकले बूढीगङ्गा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुनः मतदानका लागि सहमति जुटाउन पटक-पटक सर्वपक्षीय बैठक भए पनि हालसम्म मतदानको मिति तय भइनसकेको बताउनुभयो । सर्वसम्मतले पुनः मतदानको मिति तोक्न निर्वाचन अधिकृतको कार्यालयले एक साताभित्र चार पटक बैठक बोलाएको छ तर नेकपा एमाले पक्षको अडानले अझै सहमति हुन सकेको छैन । सर्वदलीय बैठकमा नेकपा एमालेका प्रतिनिधि उपस्थितसमेत हुने गरेका छैनन् । 

निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले जेठ २७ गते शुक्रबारका लागि बोलाइएको बैठकमा सहमति हुने विश्वास लिएको बताउनुभयो । तर नेकपा (एमाले)का जिल्ला अध्यक्ष कालीबहादुर शाहीले आफूहरू मतगणना नै हुनुपर्ने अडानमा यथावत् रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगको पुनः मतदान गर्नुपर्ने निर्णयविरुद्ध मुद्दा दायर गरेको जानकारी दिँदै उक्त मुद्दाबारे अदालतले केही नबोलेसम्म चुनाव हुन नदिने दाबी गर्नुभयो । 

निर्वाचन अधिकृत कठायतले भन्नुभयो, “लामो समयसम्म पर्खिने कुरा हुन्न, अडान राखेको पक्षले अदालतमा अग्राधिकार प्राप्त गर्न रिट दायर गरेको जानकारी गराएको हुनाले केही समय पर्खेका हौँ, तर सधैँ कुरेर बस्न सकिन्न ।” 

स्थानीय तह निर्वाचन ऐन २०७३ ले मतदान केन्द्र अनधिकृत कब्जा भएको अवस्थामा निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रको मतदान रद्द गर्न पाउने व्यवस्था गरेको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा बूढीगङ्गा नगरपालिकाका छवटा मतदान केन्द्र कब्जा गरिएपछि मतदान स्थलबाट सुरक्षाकर्मी हिँडेका थिए । 

उक्त घटनापछि निर्वाचन आयोगले तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई विभागीय कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले तीनै जना सुरक्षा प्रमुखलाई हटाइसकेको छ । निर्वाचन आयोगले भने चुनाव सुरु हुनुभन्दा अघिदेखि हालसम्म चार पटक उक्त पालिकाको निर्वाचन अधिकृत फेरिसकेको छ । 

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जुनसुकै दिन मतदानको मिति तोकिए जिल्ला सुरक्षा समिति चुनाव गराउन पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो । 

पुनः मतदानका लागि बूढीगङ्गा नगरपालिकाको १० मतदान स्थलको १९ केन्द्रका लागि करिब १७ हजार मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत कठायतले जानकारी दिनुभयो । स्थानीय निर्वाचन २०७९ मा ७५२ पालिकाको मतदान भएर मतपरिणाम आइसकेको छ । २८ पालिकाको ८५ मतदान केन्द्रमा निष्पक्ष र भयरहित वातावरणमा चुनाव नभएकोेमा बूढीगङ्गाका १९ केन्द्रबाहेक सबैमा पुनः मतदान भई मतपरिणाम समेत सार्वजनिक भइसकेको छ ।