• २६ वैशाख २०८३, शनिबार

अन्तर्राष्ट्रिय सहकार्यमार्फत आर्थिक समृद्धि

blog

नेपाल विश्व सम्बन्ध परिषद्ले प्रकाशन गरेको जर्नल विमोचन गर्नुहुँदै प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, विशेष अतिथि परराष्ट्रमन्त्री शिशिर खनाल तथा परिषद्का अध्यक्ष डा. सुरेश मल्ल । तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २६ गते । सभामुख डोलप्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्व बढ्दै गएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका मुख्य आधारस्तम्भमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्धन, आर्थिक कूटनीति र विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

सभामुख अर्यालले भन्नुभयो, “विश्वव्यापी रूपमा नेपाललाई कूटनीतिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन क्षेत्रमा दिगो विकास र संरक्षण सुनिश्चित सबल कूटनीतिक अभ्यास गर्नुपर्ने हुन्छ ।” उहाँले द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धलाई सन्तुलित र सुदृढ बनाउन प्राकृतिक स्रोत र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै दिगो विकासको मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । 

सभामुख अर्यालले असंलग्न नीतिका आधारमा राष्ट्रिय पहिचान र विश्वसामु नेपालको सकारात्मक छवि निर्माण गर्न हामीले अवलम्बन गर्ने कूटनीतिले ठुलो भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विश्व कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धि समुन्नत समाज निर्माणका लागि अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ दरिलो बनाउन आवश्यक छ ।” 

कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान विश्वले जलवायु सङ्कट, विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध र ऊर्जा सुरक्षा जस्ता बहुआयामिक चुनौतीको सामना गरिरहेको बताउनुभयो । नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भूमिका अपरिहार्य रहेको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “आजको बदलिँदो परिस्थितिमा नेपालले आफ्नो सार्वभौमसत्ता अक्षुण्ण राख्दै विश्व बजारमा आफ्नो अर्थतन्त्रलाई एकीकृत गर्नुपर्ने चुनौती छ । यस्तो अवस्थामा स्वतन्त्र र गैरराजनीतिक थिङ्क ट्याङ्कको भूमिका अझै महŒवपूर्ण भएको छ ।” 

परराष्ट्रमन्त्री खनालले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधीको सुनिश्चितता जस्ता विषय पनि प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले औपचारिक कूटनीतिले कतिपय संवेदनशील विषयमा तत्काल संवाद अगाडि बढाउन नसक्ने अवस्थामा ‘ट्र्याक टु डिप्लोमेसी’ (दोस्रो तहको कूटनीति) मार्फत अनौपचारिक र बौद्धिक संवाद चलाउन नेपाल विश्व सम्बन्ध परिषद्ले पुलको काम गर्नुपर्नेमा जोड दिनुभयो ।