गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपत् जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रियस्तरको ‘नीतिमन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ । जलवायु परिवर्तनसँगै नेपालमा प्राकृतिक विपत्का घटना बढ्दो क्रममा रहेका बेला रास्वपाले नीतिगत बहसलाई केन्द्रमा राख्दै पूर्वतयारी र व्यवस्थापनबारे व्यापक छलफल सुरु गर्न लागेको हो ।
‘पार्टी–संसद्–सरकार’ समन्वय समितिको आयोजनामा हुने उक्त कार्यक्रममा विपत् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनस्र्थापनाका विषयमा विज्ञ, सुरक्षा निकाय, सरोकारवाला संस्था र राजनीतिक नेतृत्वबिच गहन छलफल गरिने जनाइएको छ । कार्यक्रम आइतबार काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना हुने छ ।
रास्वपाका केन्द्रीय सदस्य तथा ‘पार्टी–संसद्–सरकार’ समन्वय समितिका सचिव आरके ढुङ्गानाले विपत् व्यवस्थापनलाई प्रतिक्रयात्मकभन्दा पनि पूर्वतयारीमुखी बनाउन आवश्यक नीति निर्माणको उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा हरेक वर्ष बाढीपहिरो, डढेलो, चट्याङ तथा भूकम्प जस्ता प्राकृतिक विपत्ले ठुलो जनधनको क्षति पु¥याउँदै आएका छन् । विपत् पूर्वतयारी, स्रोत व्यवस्थापन, जोखिम पूर्वानुमान तथा विभिन्न निकायबिच समन्वय कमजोर हुँदा क्षति न्यूनीकरणमा चुनौती देखिँदै आएको उहाँको भनाइ छ ।
ढुङ्गानाले भन्नुभयो, “विपत् आइपरेपछि मात्र सक्रय हुने होइन, त्यसअघि नै तयारी कसरी मजबुत बनाउने भन्ने विषयमा केन्द्रित भएर नीति बहस गर्न खोजिएको हो । सरकार, सुरक्षा निकाय र स्थानीय तहलाई प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक कानुनी, संरचनागत तथा स्रोत व्यवस्थापनका पक्षमा स्पष्ट नीति आवश्यक छ ।” उहाँले कार्यक्रममा विपत् व्यवस्थापनमा संलग्न सुरक्षा निकायका अधिकारी, नीतिविज्ञ, वातावरणविद्, स्थानीय तहका प्रतिनिधि तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहने बताउनुभयो । कार्यक्रममा प्राप्त सुझावलाई समेटेर रास्वपाले आगामी दिनमा संसद् र सरकारमार्फत नीतिगत पहल अघि बढाउने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो ।
रास्वपा सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पार्टीका केन्द्रीय विभाग प्रमुख, प्रतिनिधि तथा विभिन्न क्षेत्रका विज्ञको सहभागिता रहने जनाइएको छ । रास्वपाले राष्ट्रिय सरोकारका विषयमा दीर्घकालीन नीति निर्माणमा योगदान दिने उद्देश्यले महामन्त्री भूपदेव शाहको नेतृत्वमा नौ सदस्यीय ‘पार्टी–संसद्–सरकार’ समन्वय समिति गठन गरेको थियो । समितिले आमजनसरोकारका विषयमा विज्ञसँग बहस र अन्तक्रिया गर्दै राष्ट्रिय धारणा तयार गर्ने लक्ष्य राखेको जनाएको छ । रास्वपाका अनुसार ‘नीतिमन्थन’ कार्यक्रमबाट प्राप्त निष्कर्ष र सुझावलाई समेटेर विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिगत अवधारणा तयार गरिने छ । त्यसलाई संसद्, सरकार र सम्बन्धित निकायमार्फत कार्यान्वयनमा लैजान पहल गरिने पार्टीको तयारी छ ।