• १२ असोज २०८१, शनिबार

धितोपत्र बजारमा स्तरीय प्रविधि आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २६ गते  । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा अन्तर्राष्ट्रियस्तरको प्रविधि आवश्यक रहेको बताउनुभएको छ ।नेपाल धितोपत्र बोर्डको ३०आँै वार्षिक उत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले धितोपत्र बजारलाई व्यवस्थित र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न आधुनिक प्रविधि आवश्यक रहेको बताउनुभएको हो । 

धितोपत्र बजारको नियमनकारी संस्थालाई छिटोछरितो नयाँ आधुनिक प्रविधि आवश्यक रहेकाले यसका लागि सहयोग गर्न मन्त्रालय तयार रहेको उहाँले बताउनुभयो । लगानीकर्ताको लगानी संरक्षण गर्न नियमनकारी संस्थाको क्षमता वृद्धि, भौतिक पूर्वाधारको विकास, जनशक्तिको क्षमता विकास गर्न अति आवश्यक रहेको मन्त्री शर्माले बताउनुभयो । 

अर्थमन्त्री शर्माले धितोपत्र बजार क्षेत्रमा ज्ञान, जनचेतना, साक्षरताको खाँचो रहेको बताउँदै बोर्डले जनशक्ति परिचालन गर्नुपर्ने बताउनुभयो । पुँजी बजारमा अज्ञानताका कारण लगानीकर्ता समस्यामा परेकाले पुँजी बजारसम्बन्धी जनचेतना, वित्तीय साक्षरता कार्यक्रम गाउँगाउँसम्म सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले धितोपत्र बजारको नियमनकारी निकाय जवाफदेही र स्वायत्तता हुनुपर्ने भएकाले यसका लागि सहयोग गर्न अर्थ मन्त्रालय तयार रहेको पनि बताउनुभयो । 

सेयर बजार घट्ने बढ्ने स्वाभाविक प्रक्रिया भएकाले अस्वाभाविक प्रक्रियाबाट सचेत हुनुपर्ने उहाँले बताउनुभयो । बजारमा धेरै ठूला, मध्य र साना खालका कम्पनी भिœयाउन बजेटमा विशेष प्राथमिकता दिइएको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । 

उहाँले पुँजी बजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो । उहाँले पुँजी बजारका बारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायलाई निर्देशन पनि दिनुभयो । 

“पुँजी बजारसम्बन्धी ज्ञान र वित्तीय साक्षरता हुनुप-यो । तालिम दिन जनशक्ति परिचालन गर्नुप-यो । अहिले यो अपर्याप्त भएको छ । गाउँगाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पुँजी बजारका बारेमा बुझाउने कुरामा कमी भएको छ,” उहाँले भन्नुभयो । 

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले तरलता अभाव, ब्याजदरमा वृद्धि, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, विदेशी मुद्रा सञ्चितिको अभावले गर्दा नेप्से सङ्कुचनमा आएको बताउनुभयो । पुँजी बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले प्रभावकारी रूपमा समन्वयको काम गरिरहेको बताउँदै अध्यक्ष हमालले लगानीकर्ताको लगानी सुरक्षित गर्न, लगानी विविधीकरण गर्न, बुक बिल्डिङ दिगो बनाउन, स्थापित कम्पनीलाई बोर्डमा सूचीकृत गर्न बोर्डले सुधारका काम गरिरहेको बताउनुभयो । गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्न वातावरण तयार गरिएको अध्यक्ष हमालले जानकारी दिनुभयो । 

धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्न कानुनी व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षित गर्ने, एक अर्ब रुपियाँ वा सोभन्दा बढीको पुँजी वा पाँच अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गर्नेगरी सूचीकृत हुन लगाउने व्यवस्था बजेटमार्फत गरिएको छ।

समिति गठन

धितोपत्र बजारमा देखिएका समस्या समाधान गर्न र सुझाव प्रस्तुत गर्न समिति गठन गरिएको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैङ्कका एक-एक प्रतिनिधि तथा धितोपत्र बोर्डको एक प्रतिनिधि सदस्य सचिव रहने गरी चार सदस्यीय समिति गठन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पुँजी बजारमा देखिएको समस्या हल हुने अपेक्षा राखिएको छ ।