• १६ असार २०८१, आइतबार

ल्याण्डफिल साइटमा फोहोरकोभन्दा मिथेन ग्यासको गन्ध बढी : नास्ट

blog

काठमाडौँ, जेठ २५ गते। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ओखरपौवास्थित ल्याण्डफिल साइटमा फोहोरभन्दा मिथेन ग्यासको गन्ध धेरै भेटिएको जनाएको छ। 

नास्टको दोस्रो प्रारम्भिक अध्ययनले उक्त ल्याण्डफल साइटको माथिल्लो भागको पूर्व, पश्चिम, मध्य र दक्षिणतर्फ अलसेक्टोमिटर उपकरण प्रयोग गरेर गन्ध मापनको क्रममा सो क्षेत्रमा वातावरणीय समस्या देखाएको हो। 

साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी र अन्य ठाउँमा फोहोरकोभन्दा मिथेन ग्यास धेरै भेटिएको नास्टका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तले बताउनुभयो। त्यसो त, अध्ययन गरिएको समय हावाको वहावले पनि गन्धलाई फरक पार्ने उहाँको भनाइ छ। 

सो क्षेत्रमा ग्यास बाहिर ल्याउन भेन्ट नभएको र यसलाई ड्रिल गरेर बाहिर ल्याइने जनाइएको छ। छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि यो वितरण गर्न सकिने अर्को विकल्पको रुपमा हेरिएको छ। तर, साइटमा कति परिमाण ग्यास छ र यसलाई कसरी निकालेर वितरण गर्ने भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने जनाइएको छ। 

नास्टले यसअघि पनि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो। 

गन्धमुक्त बनाउने काम तीन दिनभित्र सुरु हुने

अध्ययनबाट प्राप्त विवरण उल्लेख गर्नुहुँदै महानगर प्रमुख बालेन्द्र शाहले गन्धसँगै पानी र मोटोको पनि अध्ययन गर्नुपर्ने बताउनुभयो। महानगरले नास्टलाई पत्राचार गरेको आधारमा डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाई जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहभागी टोलीले प्रारम्भिक अध्ययन गरेको उहाँले भन्नुभयो।

“लिचेड मिसिनु भन्दा अगाडि, लिचेड मिसिएको ठाउँ र लिचेड मिसिएको ठाउँभन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमूना संकलन गरेर प्रारम्भिक अध्ययन गरिएको छ। यी ठाउँबाट संकलन गरिएका तीन वटा नमूनाको तुलनात्मक अध्ययनबाट स्रोतबाट एक किलोमिटर परसम्मको पानीमा लिचेडको मात्रा धेरै देखिएको छ। यहीकारण जलमा बस्ने जीवजन्तुमा नकारात्मक असर परेको अध्ययनले देखाएको छ”, उहाँले बताउनुभयो।

पानी प्रदूषण र  लिचेड सम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिने प्रमुख शाहको भनाइ छ।