• १९ वैशाख २०८२, शुक्रबार

वसन्तकालिन यामको धौलागिरि आरोहण सुरु हुँदै

blog

हिमाल आरोहणका लागि टेन्ट टागेर क्याम्प ३ मा बसेका आरोहीहरू । तस्बिर सौजन्य : लाक्पा शेर्पा

ठाकुरप्रसाद आचार्य  
म्याग्दी, वैशाख १९ गते ।
वसन्तकालिन याममा धौलागिरि हिमाल आरोहणको तयारी गरिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि शेर्पाहरूको टोलीले तयारी गरेको हो ।

हिमाल आरोहणका लागि शेर्पाहरूको टोली बाटो बनाउन र डोरी टाङ्ग्ने (रोप फिक्सिङ) मा जुटेको छ । ६ जना शेर्पाहरूको टोली ७ हजार एक सय मिटर उचाईमा रहेको क्याम्प ३ सम्म पुगेको टोलीका प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘धौलागिरि हिमालको चुचुरोमा पुग्ने बाटो बनाउँदै टोलीमा सहभागी शेर्पा र आरोहीहरू क्याम्प ३ सम्म पुगेको छ । एक दुई दिन भित्रमा टोलीले बाटो बनाउने र डोरी टाङ्ग्ने काम सम्पन्न गर्दछ ।’’ बाटो बनाएपछि आरोहीहरु चुचुरो तर्फ लाग्ने उहाँले बताउनुभयो ।

टोलीले धौलागिरिको चुचुरोसम्म बाटो बनाउने र डोरी टाङ्ग्ने काम सम्पन्न गरेपछि आधार शिविरमा रहेका आरोहीहरूले हिमाल आरोहण सुरु गर्ने सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेभेन समिटका तर्फबाट सहयोगी शेर्पासहित विभिन्न देशका १८ जना आरोहीहरू धौलागिरि आरोहणका लागि आधार शिविर पुगिसकेका छन् । धौलागिरिमा मौसम परिवर्तन भइरहने भएकाले आरोहणका  लागि निकै चुनौती मानिएको उहाँको भनाइ छ ।  

अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ । यस सिजनमा दुई समुहका छ जना महिला र नौ जना पुरुष गरेर सहयोगी शेर्पा बाहेक १५ जना विदेशी आरोहीले आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।