• १२ असार २०८१, बुधबार

दुर्घटना घटाउन ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन

blog

‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम अन्तर्गत विद्यार्थिलाई सचेत पारिँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, जेठ २५ गते । 
विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक कार्यालय बाँकेले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा सडक दुर्घटना वृद्धि हुन थालेपछि विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

प्रमुख ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले सो कार्यक्रमअन्तर्गत कोहलपुर–१२ मा रहेको ग्रीन पिस माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।

उहाँले सो कार्यक्रम लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रम भएको जनाउँदै अन्य जिल्लामा समेत सञ्चालन भइरहेको र बाँकेमा पनि विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई प्रशिक्षण दिने कार्य सुरु गरेको बताउनुभयो ।

स्कुलस्तरबाट नै विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउने आशाका साथ कार्यक्रम गरिरहको जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहको भनाइ छ ।

जिल्लाका धेरै ठाउँमा विद्यार्थिहरुले समेत निकै व्यस्त सडक र राजमार्ग समेत पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकोले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनिहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग गर्ने प्रहरीको ठम्याइ छ ।

कार्यक्रमअन्तर्गत ग्रीन पिस माध्यमिक विद्यालयका ७० जना विद्यार्थीलाई ट्राफिक प्रहरी नायब निरीक्षक भेषराज पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

उहाँले विद्यार्थीहरुलाई सवारी दुर्घटना तथा बाटो क्रस गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको बताउनुभयो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न जिज्ञासा र प्रश्नहरु समेत सोधेको पौडेलले बताउनुभयो ।

बाँके जिल्लामा १५ हजारभन्दा बढी सङ्ख्यामा रहेका अटो रिक्साका कारण दुर्घटना र ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि केही समययता बाँके ट्राफिकले दैनिक रुपमा अटो चालकहरुलाई पनि ट्राफिक नियमबारे प्रशिक्षण दिइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहले बताउनुभयो ।